Techie IT
२०८३ मंसिर १३, शनिबार

राष्ट्रहित विपरीत सम्झौता हुँदा पनि किन मौन छ देश ?


लेखक तथा सीमाविद् रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएका सम्झौताहरू नेपालको हितविपरीत हुँदाहुँदै पनि देशभित्र विरोध नभएको र उल्टै सबै पक्षले प्रशंसा गरेको भन्दै तिखो कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचार र सिद्धान्त नमिल्ने विपरीत ध्रुवका शक्तिहरू एकाएक भ्रमणको समर्थनमा उभिनुलाई ‘अद्भुतपूर्ण चमत्कारिक मिलन’ को संज्ञा दिएका हुन् । उनले चीन, अमेरिका, भारत र युरोप निकटका व्यक्तिहरूदेखि एमसीसी र बीआरआईका पक्ष–विपक्ष, राजतन्त्रवादी, गणतन्त्रवादी, पूर्वमाओवादी, पूर्वपञ्च, बुद्धिजीवी, पत्रकार र विश्लेषकहरूसमेत भ्रमण सफल र ऐतिहासिक भयो भन्दै एउटै कित्तामा उभिएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

ईपीजी र सीमा मुद्दामा मौनताप्रति आपत्ति
भण्डारीका अनुसार भारतले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन अस्वीकार गरेको, सन् १९५० को सन्धि लगायतका विषय संयुक्त विज्ञप्तिमा नपरेको र लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको मुद्दा नउठाइएको विषयलाई ढाकछोप गर्न खोजिएको छ ।

उनले फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री भारतमा हुँदा भारतीय विदेश सचिवले लिपुलेक नेपालको होइन, भारत र चीनको सीमा हो र ईपीजीको औचित्य सकियो भन्दा पनि कसैले एक शब्द बोलेनन् । उल्टै परराष्ट्रमन्त्रीले दुईपक्षीय वक्तव्यमा नभएका कुरा राखेर नयाँ विज्ञप्ति जारी गर्दै जनतालाई गुमराहमा राख्ने काम गरे ।”

भ्रमणका क्रममा भएका ऊर्जा तथा प्रशासनिक सम्झौताहरूसमेत राष्ट्रहितमा नरहेको भण्डारीको दाबी छ । तल्लो अरुणको स्वच्छ ऊर्जा भारत निर्यात गरेर खाडी मुलुकबाट आयातित महँगो ग्यास र खनिज तेल भित्र्याउने सम्झौता देशको हितमा नभएको उनले उल्लेख गरेका छन् ।

यसैगरी, प्रशासनिक र प्रहरी तालिमका नाममा वि.सं. २००८ सालपछि पुनः नेपालको सुरक्षा निकाय र कर्मचारीतन्त्रमा भारतको पहुँच विस्तार गर्ने ढोका खोलिएको आरोपसमेत उनले लगाएका छन् । विगतमा भारतले पाइपलाइन दिनुलाई ‘घाँटी थिच्ने’ कदम भन्नेहरू नै अहिले त्यसको प्रशंसामा उत्रिएको भन्दै भण्डारीले परराष्ट्र मामिलाका जानकार र बुद्धिजीवीहरूले ‘बुद्धि धरौटी राखेको’ टिप्पणी गरेका छन् ।

भ्रमणका क्रममा भारतले उपलब्ध गराएको ऋण र लगानीको आश्वासनलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै सीमा, असमान सन्धि–सम्झौता र राष्ट्रिय स्वाधीनताका मुद्दालाई विकाससँग साट्ने प्रवृत्ति हाबी भएको भण्डारीको निष्कर्ष छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट