सुदूरपश्चिम र कर्णालीमा लगातार भूकम्पका झट्का
नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पका धक्काहरू महसुस गरिएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो पटक बुधबार राति बाजुरा जिल्लामा भूकम्प गएको हो।
केन्द्रका अनुसार राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। यस लगातारका कम्पनले यस क्षेत्रमा भूकम्पको जोखिम थप बढेको देखाएको छ।
यसअघि असोज २० गते राति भारतको उत्तराखण्डमा पनि ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। राति १० बजेर ३८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको थियो। केन्द्रबिन्दु भारतमा भए पनि त्यसको धक्का नेपालका सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
त्यस्तै, भदौ ३१ गते मुगु जिल्लामा एकै रात दुईवटा भूकम्पका धक्का गएका थिए। मुगुको कालै आसपास केन्द्रबिन्दु बनाएर राति १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो भने त्यसको केही घण्टापछि बिहान ४ बजेर २८ मिनेटमा सोही आसपास केन्द्रबिन्दु बनाई ४.२ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको थियो। पश्चिमाञ्चल क्षेत्रमा भइरहेका यी निरन्तरका भूकम्पीय गतिविधिले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस