Techie IT
२०८२ भाद्र ३, मंगलबार

वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा ६ खर्ब मूल्य बराबरको वस्तु आयात


वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा कुल ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मूल्यको आधारमा १५.१४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड रुपैयाँ बढी हो।

भन्सार कार्यालयका अनुसार, वीरगञ्ज नाका हुँदै सबैभन्दा धेरै आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो। पाँच प्रकारका पेट्रोलियम पदार्थमा मात्रै १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ।

दोस्रो धेरै आयात हुने वस्तुमा कच्चा भटमासको तेल छ, जसको मूल्य ५७ अर्ब ६८ करोड रुपैयाँ छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ। उनले भने, “अर्थतन्त्र सहज हुँदै गएकाले यो वृद्धि भएको हुनसक्छ।”

गत आर्थिक वर्षमा मेसिनरी र त्यसका पार्टपुर्जा ३६ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ भने फलाम तथा फलामबाट बनेका सामान ३४ अर्ब ४१ करोड रुपैयाँको आयात भएका छन्। त्यस्तै, सबै प्रकारका एलोपेथिक औषधि २८ अर्ब ५३ करोड रुपैयाँ मूल्यमा आयात भएका छन्।

आयात मात्र होइन, निर्यातमा पनि बृृद्धि भएको छ। गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा २२७.०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड रुपैयाँले बढी हो। अघिल्लो वर्ष ३१ अर्ब १४ करोड मूल्य बराबरको वस्तु निर्यात भएको थियो।

सबैभन्दा बढी निर्यात हुने वस्तु प्रशोधित भटमासको तेल हो। गत आर्थिक वर्षमा २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर, जसको मूल्य ६१ अर्ब ४५ करोड रुपैयाँ बराबर छ, निर्यात गरिएको छ। जबकि अघिल्लो आर्थिक वर्षमा मात्र चार लाख ६४ हजार १३८ लिटर, जसको मूल्य ९ करोड रुपैयाँ थियो, निर्यात भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट