कुनै दिन पाकिस्तानले भारतलाई नै तेल निर्यात गर्न सक्छ - राष्ट्रपति ट्रम्प

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकासँग हालै सम्पन्न व्यापार सम्झौताप्रति सन्तोष व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।
शरीफले सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै यसले अमेरिका–पाकिस्तान सम्बन्धमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्। अमेरिकी समय अनुसार बुधबार ट्रम्पले ट्रुथ सोशलमा घोषणा गर्दै पाकिस्तानसँग ठूलो तेल भण्डार विकासका लागि संयुक्त प्रयासमा सहमति भएको जानकारी दिएका थिए।
पाकिस्तानको समुद्री तट क्षेत्रमा तेल भण्डार रहे पनि उत्पादन प्रक्रिया अघि नबढेको अवस्थामा यस सम्झौतालाई उल्लेखनीय उपलब्धि मानिएको छ। हाल पाकिस्तानले ऊर्जा आवश्यकताका लागि मुख्यतः पश्चिम एसियाबाट तेल आयात गर्दै आएको छ।
प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमार्फत भने, “इतिहास रच्ने अमेरिका–पाकिस्तान व्यापार सम्झौताका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। वाशिंगटन डीसीमा सम्पन्न उक्त सम्झौताले दुवै देशबीचको साझेदारीलाई अझ मजबुत बनाउनेछ र दीर्घकालीन सहकार्यको नयाँ ढोका खोल्नेछ।”
सरकारी रेडियो पाकिस्तानका अनुसार उक्त सम्झौतामा पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेब, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरबीच वाशिंगटनमा छलफलपछि अन्तिम सहमति जुटेको हो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “हामीले पाकिस्तानसँग सहमति गरेका छौं जसअन्तर्गत दुबै देशले पाकिस्तानको विशाल तेल भण्डारको विकासमा संयुक्त रूपमा काम गर्नेछन्। नेतृत्व गर्ने अमेरिकी तेल कम्पनीको छनोट प्रक्रिया सुरु भइसकेको छ। कसलाई थाहा, कुनै दिन पाकिस्तानले भारतलाई नै तेल निर्यात गर्न सक्छ।”
सम्झौताले द्विपक्षीय व्यापार प्रवर्द्धन, बजार पहुँच विस्तार, लगानी प्रवाह र आपसी हितमा आधारित सहयोगलाई सुदृढ बनाउने उद्देश्य लिएको उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस