Techie IT
२०८३ कार्तिक १६, आइतबार

चक्रवातको प्रभाव हट्यो: अबका दिनहरू घमाइला हुने


नेपालमा 'अर्नब' चक्रवातको प्रभाव पूर्ण रूपमा सकिएसँगै मुलुकभरको मौसममा क्रमिक सुधार आउन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका दिनहरूमा देशभरको मौसम थप सफा र घमाइलो बन्दै जानेछ।

मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि नै मौसममा उल्लेख्य सुधार आएको जानकारी दिएका छन्। विगत २४ घण्टाको अवस्थालाई विश्लेषण गर्दा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक-दुई स्थानमा सामान्य छिटपुट वर्षा बाहेक अन्यत्र ठूलो वर्षा भएको छैन।

आइतबार बिहान तराईका भूभाग तथा काठमाडौं र पोखरालगायतका उपत्यकाहरूमा बाक्लो हुस्सु र कुहिरो लागे पनि यो क्रमशः हट्दै गएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा देखिएको हुस्सु पनि छिट्टै खुल्ने विभागले जनाएको छ।

आइतबार दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली रहे पनि समग्रमा मौसम सफा रहनेछ। हिमाली र पहाडी भेगका करिब १० प्रतिशत क्षेत्रमा मात्रै सामान्य छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताएका छन्। त्यस्तै, रातिको समयमा पूर्वी भूभागको मौसम अझै खुल्दै जानेछ भने पश्चिमी भूभागका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपातको सम्भावना छ। अन्य भूभागमा भने मौसम अनुकुल रहनेछ।

सोमबारको मौसम पनि सामान्यतया सफा नै रहने प्रक्षेपण गरिएको छ। सोमबार बिहान तराई, उपत्यका र नदी किनारका खोँचहरूमा हुस्सु लागे पनि यो आइतबारको तुलनामा निकै कम हुने र छिट्टै खुल्नेछ। दिउँसोपख हिमाली, पहाडी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि साँझदेखि मौसममा थप सुधार आउने र पूर्ण रूपमा घमाइलो हुने विभागको भनाइ छ।

चक्रवातको प्रभाव पूर्ण रूपमा हटेसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनका लागि 'हरियो रङ' को चेतावनी (सतर्कता) जारी गरेको छ। यसको स्पष्ट अर्थ अबको केही दिन मौसमका कारण कुनै पनि किसिमको नकारात्मक जोखिम वा विपत्ति पर्ने सम्भावना नरहेको विभागले प्रस्ट्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट