Trump Tariff
ट्रम्पको भन्सारको डण्डा, दर्जनौं देशमा उच्च दर लागू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक विश्वव्यापी व्यापार क्षेत्रलाई हल्लाइदिने खालको निर्णय लिएका छन् । बिहीबार राति हस्ताक्षर गरिएको कार्यकारी आदेशमार्फत ट्रम्पले ७० भन्दा बढी मुलुकमा नयाँ भन्सार दर लागू गर्ने घोषणा गरेका छन् । यो निर्णय विश्व व्यापार सन्तुलन र कूटनीतिक सम्बन्धमा गहिरो प्रभाव पार्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।
अप्रिल २ मा ट्रम्पले 'रेसिप्रोकल ट्यारिफ' नीति सार्वजनिक गरेका थिए । यसको अर्थ, जसरी कुनै देशले अमेरिकाबाट आयातित वस्तुमाथि कर लगाउँछ, त्यसको जवाफी प्रतिक्रिया स्वरूप अमेरिका पनि त्यसै अनुपातमा भन्सार लगाउने भन्ने हो । तर, उक्त नीति सार्वजनिक गरेलगत्तै अन्तर्राष्ट्रिय दबाबपछि उनले सात दिनमै उच्च दर फिर्ता लिएर सबैमाथि समान १० प्रतिशतको दर तोकेका थिए ।
त्यसपछि तीन महिनाको अवधिमा परस्पर छलफलमार्फत आपसी सम्झौता गरी नयाँ दर तय गर्ने भनिएको थियो । तर, ट्रम्प प्रशासनले तोकेको अवधि यही शुक्रबार सकिँदैछ, र त्यसअगावै उनले फेरि एकपटक आक्रामक रणनीति अवलम्बन गरेका छन् ।
कसलाई कति भन्सार?
नयाँ कार्यकारी आदेशअनुसार केही प्रमुख मुलुकहरूमा अत्यन्त उच्च दर लगाइएको छ । क्यानडामा २५ प्रतिशत दरबाट बढाएर ३५ प्रतिशत पुर्याइएको छ भने ब्राजिलमाथि सीधै ५० प्रतिशत भन्सार लागू गरिएको छ । म्यानमार, लाओस, सिरिया जस्ता मुलुकमा ४० प्रतिशतभन्दा बढी दर तोकिएको छ ।
युरोपेली संघ, जापान, दक्षिण कोरिया, भियतनाम, इन्डोनेशिया, फिलिपिन्सलगायतका देशमा १५–१९ प्रतिशत दर कायम गरिएको छ । भारत, जससँग पछिल्ला वर्षमा व्यापारिक मतभेद गहिरिँदै गएको छ, त्यसमाथि पनि २५ प्रतिशतको दर तोकिएको छ ।
ब्राजिलमाथि तोकिएको ५० प्रतिशतको भन्सारले राजनीतिमा व्यापार कसरी प्रयोग गरिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । ट्रम्पका मित्र तथा ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि कूको आरोप लागेपछि ट्रम्पले त्यसको प्रतिक्रियास्वरूप यस्तो निर्णय गरेका हुन् । यद्यपि ट्रम्पले खुला रूपमा मित्रताको सन्दर्भ दिँदै बोल्सोनारोलाई समर्थन गर्दै आएका थिए, कानुनी अनुसन्धान सुरु भएपछि भन्सारको हतियार प्रयोग गरिएको देखिन्छ ।
ब्राजिलका वर्तमान राष्ट्रपति लुला दा सिल्भाले यसविरुद्ध कडा प्रतिक्रिया जनाउँदै अमेरिकी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चीनसँग व्यापार युद्धको नयाँ अध्याय?
नयाँ निर्णयसँगै ट्रम्प प्रशासनले चिनियाँ नेतृत्वसँग पनि वार्ताको तयारी गरिरहेको न्यूयोर्क टाइम्सले जनाएको छ। विगतमा भन्सार दरको कारण अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलेको थियो। अमेरिकाले १४५ प्रतिशतसम्म भन्सार दर पुर्याएपछि चीनले पनि १२५ प्रतिशतको जवाफी भन्सार लागू गरेको थियो। त्यसपछिको सहमतिमा दुवै मुलुकले भन्सार दर क्रमशः घटाउँदै ल्याएका थिए।
तर अहिले पनि ३० प्रतिशत (अमेरिका) र १० प्रतिशत (चीन) दर कायम छ, जुन अगस्ट १२ मा सकिनेछ। त्यसअगावै वार्ता हुने अनुमान गरिएको छ। तर ट्रम्पको पछिल्लो निर्णयले वार्ता पुनः जटिल बन्ने सम्भावना पनि देखिन्छ।
नयाँ दर कहिले लागू हुन्छ?
ट्रम्पले घोषणा गरेको नयाँ भन्सार दर अगस्ट ७ देखि औपचारिक रूपमा लागू हुनेछ । सूचीअनुसार अफगानिस्तानदेखि स्वीटजरल्याण्डसम्म ६० भन्दा बढी देशहरूमा १०% देखि ५०% सम्मको दर तोकिएको छ । यी दर वस्तुको प्रकारअनुसार फरक–फरक हुने बताइएको छ ।
ट्रम्पको यो निर्णयले विश्व व्यापारमा अनिश्चितता थपेको छ। विश्लेषकहरू भन्छन्, यस्तो नीति छोटो समयका लागि राजनीतिक लाभ लिन उपयोगी भए पनि दीर्घकालीन रूपमा अमेरिकी व्यापारलाई नै घाटा हुन सक्ने खतरा छ। किनभने अधिकांश देशहरूले जवाफी भन्सार लगाउने सम्भावना प्रबल छ।
विशेषतः विकासशील राष्ट्रहरूजस्तो कि भारत, ब्राजिल, इन्डोनेशिया, फिलिपिन्स आदिले आफ्ना घरेलु उद्योग जोगाउन अमेरिकी सामानमाथि पनि कर लगाउने सक्ने देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस