Techie IT
२०८२ श्रावण १९, सोमबार

सेयर बजारमा ६३ अंकको भारी गिरावट, सबै समूहको सूचक राताम्य


साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च गिरावट देखिएको छ । बजार ६३.७३ अंकले घटेर २,८५८.९० बिन्दुमा झरेको छ, जुन पछिल्लो समयको ठूलो गिरावट हो । आजको गिरावट नेप्सेमा २.१८ प्रतिशतको माइनस हो । कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २,८५७ अंकसम्म झरेको थियो, जुन आजकै न्यूनतम हो ।

नेप्सेमा आइतबार ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार कित्ता शेयर १ लाख ५२ हजार पटक खरिदबिक्री हुँदा १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको १५ अर्ब ९८ करोडको तुलनामा आज कारोबार रकम उल्लेख्य रूपमा घटेको हो ।

कारोबारमा रहेका सबै उपसमूहहरू राताम्य देखिएका छन् । अन्य समूह सबैभन्दा धेरै ३.४८%, माइक्रोफाइनान्स ३.०५%, उत्पादन तथा प्रशोधन २.४४%, बैंकिङ २.२७%, लगानी २.१९%, जीवन बीमा २.१६%, निर्जीवन बीमा १.७३%, विकास बैंक र वित्त दुबै १.६६%, हाइड्रोपावर १.३०%, होटल तथा पर्यटन १.१७%, र व्यापार समूह १.४३% ले गिरावट भएको छ ।

आजको बजारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेड का शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । ट्रेड टावरको मूल्य हाल १,१४८ रुपैयाँ पुगेको छ। यस्तै थ्री स्टार हाइड्रोपावर ४.५५%, नारायणी डेभलपमेन्ट बैंक ३.८६%, र लुम्बिनी विकास बैंक २.५०% ले वृद्धि देखाए ।

दिउँसोको कारोबारमा सान्भी इनर्जी लिमिटेड को मूल्य १० प्रतिशत घटेर ८०२.४० रुपैयाँमा झरेको छ । यसपछि समता घरेलु लघुवित्त ९.९६%, ग्रीन भेन्चर्स ५.७७%, सिक्लेस हाइड्रोपावर ५.५८%, र उन्नति सहकार्य लघुवित्त ५.५२% ले उच्च गिरावट देखाए ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यस्तै हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर पनि सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परे ।

शेयर संख्याका आधारमा सनराइज ब्लुचिप फन्ड का सबैभन्दा धेरै १२ लाख ४९ हजार कित्ता शेयर किनबेच भए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट