ट्रम्पको रणनीति फेल हुदै, अमेरिकी ऋण पहिलोपटक ३७ ट्रिलियन डलर नाघ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्रको बारेमा ठूला दाबी गरिरहेका छन् तर उनी देशको बढ्दो ऋण रोक्न असफल भएको देखिएको छ ।
अमेरिकाको ऋण पहिलो पटक आधिकारिक रूपमा ३७ ट्रिलियन डलर नाघेको छ । जुलाई ४ मा वान बिग ब्युटिफुल बिल एक्ट लागू भएदेखि देशको ऋण ७८० अर्ब डलरले बढेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । अर्थात्, यो हरेक दिन २२ अर्ब डलरले बढेको छ । अमेरिकामा ऋण संकट दिनप्रतिदिन बढ्दै गइरहेको छ।
अमेरिकाको कांग्रेसनल बजेट अफिसले २०३३ सम्म अमेरिकाको ऋण बढेर ५७ ट्रिलियन डलरसम्म पुग्ने चेतावनी दिएको छ ।
कोरोना महामारी पछि अमेरिकाको ऋण १४ ट्रिलियन डलरले बढेको देखिएको छ । अहिले अवस्था यस्तो बनेको छ कि अमेरिकाले अहिले लगभग एक बर्षमा १० ट्रिलीयन डलर साँवा र ब्याज गरेर तिरिरहेको बीबीसीले उल्लेख गरेको छ ।
अहिले ट्रम्पले अर्थतन्त्रको बारेमा जेसुकै दाबी गरे पनि देशको ऋणको अवस्था निरन्तर भयावह बन्दै गइरहेको देखिएको छ । यदि यो चाँडै सुधार भएन भने, सरकारसँग बाँकी विकास कार्यको लागि पैसा नहुने र सबै पैसा ऋण चुक्ता गर्न खर्च हुने अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ । गत हप्ता मात्र, सरकारले १० लिलामी मार्फत ७२४ अर्ब डलरको बन्ड बेचेको थियो ।
अमेरिकाले भारत लगायत धेरै देशहरूबाट आउने सामानहरूमा भारी शुल्क लगाएको छ। भारत र ब्राजिलमा ५० प्रतिशत कर लगाइएको छ । ट्रम्पले यस कदमले धेरै पैसा आउने र ऋण तिर्न सहज हुने दाबि गर्दै आएका छन् । ट्रम्पले भनेका छन्- 'म जे गरिरहेको छु त्यसको मुख्य उद्देश्य ऋण चुक्ता गर्नु हो । तर मलाई लाग्छ कि हामी यति धेरै पैसा लिइरहेका छौं कि हामी अमेरिकाका जनतालाई लाभांश पनि दिन सक्छौं ।'
तपाईको प्रतिक्रिया दिनुहोस