Techie IT
२०८२ भाद्र २२, आइतबार

सामाजिक सञ्जाल बन्दले एफडीआई र व्यवसायमा असर पारेको विज्ञको चेतावनी


नेपालले हालै २६ वटा सामाजिक सञ्जाल बन्द गरेको निर्णयले डिजिटल स्वतन्त्रता, ई–गभर्नेन्स र अनलाइन अर्थतन्त्रमा गम्भीर असर पारेको छ। विगतमा टिकटक र अन्य भिडियो प्लेटफर्ममाथि प्रतिबन्धका कारण नेपाल पहिलो पटक इन्टरनेट ‘सटडाउन’ हुने सूचीमा परेको थियो।

विशेषज्ञहरूले यस कदमले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल हुने, विदेशी कम्पनी र ‘कन्टेन्ट क्रिएटर’का जीवनमा प्रत्यक्ष प्रभाव पर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार, सामाजिक सञ्जाल बन्दले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)लाई नकारात्मक संकेत पार्ने र देशको आर्थिक र कूटनीतिक छविमा असर पार्ने बताएका छन् ।

डिजिटल अधिकार अभियन्ता सन्तोष सिग्देलले भने, “एक–दुई एप बन्द हुँदा पनि इन्टरनेट स्वतन्त्रता र सिभिक स्पेसको र्‍याङ्किङमा नेपाल नकारात्मक स्थितिमा पुग्नेछ।” ‘एक्सेस रोकिनु भनेको ई–गभर्नेन्स सूचकमा गिरावट हुनु हो,’ उनले थपे।

पूर्वअर्थ सचिव लक्ष्मण अर्यालका अनुसार सरकारले नियमन गर्नुपर्ने प्लेटफर्मलाई पूर्णरूपमा बन्द गर्दा विद्युतीय सेवाबाट प्राप्त राजस्व र व्यवसायिक संचारमा असर पुगेको बताएका छन् ।

ललितपुर पाटनकी लक्ष्मी नकर्मी ‘सिस्टर्स ह्यान्डिक्राफ्ट’की सञ्चालक, सामाजिक सञ्जालबाटै मकैको खोस्टाबाट बनाइएका हस्तकला विदेश निर्यात गर्दै आएकी छिन्। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बन्द भएपछि उनका ८–१२ जना अशक्त कामदारको रोजगारी जोखिममा परेको छ ।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यका अनुसार फेसबुक र ह्वाट्सएप बन्द हुँदा व्यापार–व्यवसायमा दीर्घकालीन नकारात्मक असर पर्न सक्छ। तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे र निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले पनि साना व्यवसायी र निर्यातमा तत्काल ३०–४० प्रतिशत असर परेको र दीर्घकालीन असरको चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल बन्दले डिजिटल मार्केटिङ, अनलाइन बिक्री–वितरण र व्यवसाय प्रवर्द्धनमा समस्या सिर्जना गरेको छ। विदेशी क्लाइन्टसँग सम्पर्क कठिन भएको, नयाँ अर्डर लिन गाह्रो भएको र रोजगारीमा असर परेको व्यवसायीहरूको गुनासो छ।

विशेषज्ञहरूका अनुसार, सरकारले सामाजिक सञ्जाल बन्द गर्नुभन्दा त्यसलाई नियमन गरी वैकल्पिक माध्यम उपलब्ध गराउनु उचित हुन्छ। यसले केवल व्यवसायमा नभई समग्र अर्थतन्त्र र डिजिटल अर्थतन्त्रमा दीर्घकालीन असर घटाउँछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट