दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ भेडाच्याङ्ग्रा बाहिरी जिल्ला पठाइयो

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्लातर्फ पठाइएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कर्णाली प्रदेशका मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्लामा लगिएको हो। केन्द्रका पशु चिकित्सक लालमणि अर्यालका अनुसार मुस्ताङकै किसानका ६ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको छ।
कर्णाली प्रदेशतर्फबाट जुम्लाबाट ७७५, मुगुबाट ५०० र डोल्पाबाट ५ हजार ४०० भेडाच्याङ्ग्रा मुस्ताङमार्ग हुँदै अन्य जिल्लामा पठाइएको छ। यसबाहेक, मुस्ताङबाट अझै करिब एक हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ।
गत वर्ष दसैँमा मुस्ताङ हुँदै ९ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरी जिल्ला पठाइएको थियो। यस वर्ष भने सो संख्या करिब २० प्रतिशतले बढेको पशु चिकित्सक डा. अर्यालले जानकारी दिए। उनले यसपटक आधा च्याङ्ग्रा मुस्ताङ र आधा कर्णाली प्रदेशबाट पठाइएको उल्लेख गरे।
कास्कीका व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्यामा कृषकको खोरमै पुगेर २३५ वटा च्याङ्ग्रा खरिद गरी पोखरा लैजाने तयारी गरेको बताए। उनले यसपटक खोरमै च्याङ्ग्राको मूल्य गत वर्षभन्दा केही बढी रहेको जनाए।
यस वर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) च्याङ्ग्रा १३ हजार रुपैयाँमा खरिद भएको छ। पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्रा करिब ४२ हजार र च्यालु च्याङ्ग्रा १८ हजार रुपैयाँमा बिक्री हुने अपेक्षा व्यापारी रानाभाटले गरेका छन्।
गत वर्ष २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै नाफा भए पनि यसवर्ष देशको परिस्थितिले गर्दा च्याङ्ग्रा नबिक्ने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ।
दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्रा व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ। परीक्षणको प्रमाणपत्र ७२ घण्टासम्म मान्य हुने जनाइएको छ। यसले अस्वस्थकर च्याङ्ग्रा सहरमा नपुगोस् भन्ने उद्देश्य राखिएको हो।
यस वर्ष मात्र मुस्ताङमा करिब १०० भन्दा बढी च्याङ्ग्रा व्यापारी पुगेका छन्। उनीहरूले खरिद गरेका च्याङ्ग्रा पैदल खेदाउँदै पोखरा, काठमाडौंलगायतका बजारमा लैजाने गर्छन्। कतिपय व्यापारीले बीचमै म्याग्दी, पर्वत र बाग्लुङमा पनि बिक्री गर्ने गरेको पाइन्छ।
हिमाली पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहरका उपभोक्ताले दसैँमा च्याङ्ग्रा मासु विशेष रूपमा रोज्ने गर्छन्।
तपाईको प्रतिक्रिया दिनुहोस