वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपी ग्यास), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा एक अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। आयात बढेसँगै राजस्व संकलन पनि वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ बढी राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो। गत वर्षको पहिलो दुई महिनामा पेट्रोलियम पदार्थ आयातबाट ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्षको सोही अवधिमा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
दुई महिनाको विवरण अनुसार ११ अर्ब ९१ करोड मूल्य बराबरको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात हुँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो।
त्यस्तै, ६ अर्ब ८२ करोड मूल्यको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा ४ अर्ब ५४ करोड राजस्व संकलन गरिएको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब ४० करोड मूल्यको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड राजस्व संकलन भएको थियो।
एलपी ग्यासतर्फ चालु वर्षको दुई महिनामा ५ अर्ब १२ करोड मूल्यको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ३६ करोड मूल्यको ४ करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस