जेनजी आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर भयो - सीएनआई अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । उनका अनुसार आन्दोलनले निजी तथा सार्वजनिक संरचना ध्वस्त पार्दा लगानीकर्ताको आत्मविश्वास घटेको छ ।
नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हस्थ उत्पादन (जीडीपी) को पाँच प्रतिशत नोक्सानी भएको जानकारी दिए ।
‘उद्योग क्षेत्रमा जीडीपीको पाँच प्रतिशत असर पुगेको छ । लगानीकर्ताका लागि लगानीको सुरक्षा प्रमुख कुरा हो । लगानीकर्तालाई सुरक्षा दिन सरकारले ठोस कदम चाल्नुपर्छ,’ उनले भने, ‘अब छिट्टै माथि उठ्न वित्तीय र मौद्रिक नीतिबाट के–कस्तो सुविधा दिन सकिन्छ भन्नेमा सरकारले ध्यान दिनु आवश्यक छ ।’
उनले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्ने धारणा राखे । ठूला उद्योगका लागि निश्चित समयसीमा तोकी सहुलियत दिनुपर्ने सुझावसमेत उनले दिए । उनका अनुसार शिक्षा प्रणालीमा सुधार आवश्यक देखिएको छ ।
‘शिक्षामा लगानी भइरहेको छ तर यसको प्रतिफल कम छ । के–कस्ता सुविधा दिएर प्रतिफल बढाउन सकिन्छ भन्नेबारे छलफल गरी अघि बढ्नुपर्छ,’ उनले उल्लेख गरे ।
पाण्डेले केही समयअघि ज्वाइन्ट भेन्चरमार्फत लगानी आउन लागेको भए पनि जेनजी आन्दोलनका कारण त्यो लगानी रोकिएको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस