निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ - अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलबार महासंघमा स्वागत गर्दै उनले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरे।
ढकालका अनुसार, निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गर्ने मात्र नभई रोजगारीमा पनि ८६ प्रतिशत हिस्सा ओगटेको छ। यति ठूलो योगदान हुँदाहुँदै पनि हरेक आन्दोलनमा निजी क्षेत्रलाई निशाना बनाइनु चिन्ताको विषय भएको उनले बताए।
पछिल्लो जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको उनले जानकारी दिए। “हामी विभिन्न राजनीतिक र प्राकृतिक विपत्तिबाट गुज्रँदै आएका छौँ। भदौ २३ र २४ गतेपछिको जेनजी आन्दोलनले सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। अब यस अवस्थाबाट माथि उठ्ने चुनौती छ,” ढकालले भने।
उनले वर्तमान सरकारले छोटो समयमै निजी क्षेत्रको भावना अनुसार राहत प्याकेज घोषणा गरेकोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, तथ्यमा आधारित खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हालका घटनाले व्यवसायीहरूमा असुरक्षाको भावना पैदा गरेको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह गरेको बताए। उनले यसले रोजगारीमा समेत असर पार्ने चिन्ता व्यक्त गरे।
उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद आवश्यक भएको बताए। त्यस्तै, कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।
सेजनका अध्यक्ष भागवत भट्टराईले आफ्नो संस्थाले सधैँ खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीको पक्षमा वकालत गर्दै आएको र महासंघसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए।
महासंघले पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। साथै, महासंघले उठाएका विषयलाई देशको समग्र आर्थिक विकास र समृद्धिसँग सम्बन्धित भएको भन्दै बुझिदिन सबैसँग आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस