काठमाडौँ महानगरले तिहारका लागि ३२ स्थानमा फूलको बिक्री व्यवस्था गर्नेे
काठमाडौँ महानगरपालिकाले तिहारको अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्र ३२ स्थानमा बिक्री वितरणको व्यवस्था गरेको छ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, घरघरमा नेपाली फूल प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न नयाँ बानेश्वर, तीनकुने, चाबहिल, कालीमाटी, पुतलीसडक, सुन्धारा लगायतका स्थानहरू बिक्री केन्द्रका रूपमा तोकिएका छन्। फूलमा सयपत्री, मखमली र गोदावरी उपलब्ध गराइनेछ।
पाण्डेले बताएअनुसार, स्वदेशी फूलको सहज बिक्री वितरण सुनिश्चित गर्न महानगरले आवश्यक सहजीकरण गर्नेछ। यस अवसरमा प्लास्टिकजन्य कागजका फूल र आयातित फूल प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र महानगरले यसको अनुगमन गर्नेछ।
महानगरले कार्तिक १ देखि ६ गतेसम्म स्वदेशी फूलको सहज वितरण गर्ने जनाएको छ। तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने र करिब ३५ करोडभन्दा बढीको फूल कारोबार हुने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस