भर्खरै उद्घाटन भएको एमाले नेतृ शान्ताको अचार पसलमा आगलागी, १५ लाख बराबरको क्षति
शुक्रबार मात्र भव्य रूपमा उद्घाटन गरिएको अचार पसलमा आइतबार बिहान करिब ३ बजे आगलागी भएको छ। उक्त घटनालाई नेतृ शान्ता चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कडा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेकी छन्।
प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर नगरपालिका–१ गणेशचोकतर्फ पानी भर्न जाँदै गरेको दमकलका चालकले बजार क्षेत्रबाट धुवाँ निस्किरहेको देखे। उनले तत्काल प्रहरीलाई खबर गरेपछि दमकल टोलीसहित घटनास्थल पुगेका अधिकारीहरूले आगो नियन्त्रणमा लिएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार आगो फेन्सी स्टोरबाट सुरु भई छेउमै रहेको अचार पसलमा फैलिएको देखिन्छ। आगलागीबाट करिब १५ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। प्रहरीले भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
एमाले नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत घटनालाई शङ्कास्पद बताउँदै लेखेकी छन्, “जिन्दगीका हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लगाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।”
यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले विद्युत् सर्ट भएर आगलागी भएको प्राथमिक अनुमान रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस