सेयर बजारमा सामान्य गिरावट, कारोबार भने बढ्यो
बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से ०.९३ अंकले घटेर २५६० अंकमा झरेको छ।
यद्यपि नेप्से घटे पनि बजारमा कारोबार रकम बढेको छ। अघिल्लो दिन ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। दिनभर बजारको उतार–चढाव सामान्य रहेको छ।
आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले वृद्धि भएको छ।
जेनजी आन्दोलनपछि होटल तथा पर्यटन समूह सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको थियो। त्यसअनुसार आन्दोलनको समयमा अधिकांश कम्पनीको मूल्य घटेको थियो। तर, पर्यटन सिजन सुरु हुँदा केहीबाहेक अधिकांशमा त्यसको असर देखिएको छैन, जसले गर्दा लगानीकर्ताले यस सेक्टरमा आकर्षण देखाएका छन्।
त्यस्तै अन्य समूहमा बढ्ने र घट्नेमा
बढ्ने: जलविद्युत् ०.०९%, उत्पादन तथा प्रशोधन ०.३२%, माइक्रोफाइनान्स ०.२७%, अन्य ०.३०%, व्यापार समूह ०.१७%।
घट्नेमा: बैंकिङ ०.३४%, विकास बैंक ०.०८%, लगानी ०.५२%, जीवन बीमा ०.०६%, निर्जीवन बीमा ०.३३%।
चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनी हुन्: धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी, र सागर डिस्टिलरी। यीमध्ये धौलागिरीबाहेक अन्य कम्पनी हालै सूचीकृत भएका हुन्। त्यस्तै सिन्धु विकास बैंकको मूल्य ९.६०%, सप्तकोशी विकास बैंक ७.७१%, र चिरख्वा हाइड्रोपावर ६.८०% ले बढेको छ।
बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०५% ले घटेको छ। अन्य कम्पनीमा दरामखोला ४.९१% र विकास हाइड्रोपावर ३.७९% ले घटेका छन्। आज धेरै कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस