अण्डाको मूल्य फेरी बढ्यो, कति पुग्यो प्रतिक्रेट ?
भारतीय सीमाक्षेत्रमा निर्वाचनका कारण कडाइ बढेपछि अवैध रूपमा नेपाल भित्रिने अण्डा रोकिएको छ। अवैध आयात रोकिनासाथ नेपाली अण्डाको मूल्य बढेको छ र किसानले पनि लागत मूल्य पाउन थालेका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर जारी गरेको नयाँ समर्थन मूल्यसूची अनुसार अण्डाको मूल्य आजबाट लागू भएको हो। नयाँ मूल्यसूचीमा ठूलो वृद्धि भएको सङ्घले जनाएको छ।
नयाँ मूल्यसूची अनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको): रु. ५२०, ठूलो अण्डा: रु. ५०५ र मिडियम अण्डा: रु. ४९० प्रतिक्रेट तोकिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघि भन्दा प्रतिक्रेट ५५ रुपैयाँले मूल्य बढेको हो। अवैध भारतीय अण्डा रोकिएपछि नेपाली अण्डाले वास्तविक लागत मूल्य पाउन थालेको उनको भनाइ छ।
उनका अनुसार भारतमा निर्वाचनका कारण सीमामा कडाइ भएको र भारतीय बजारमै खपत तथा मूल्य वृद्धि भएपछि त्यहाँका व्यापारीले अण्डा नेपाल पठाउन नसक्ने अवस्था बनेको हो।
सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा ७.८० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ। त्यहाँ राम्रो मूल्य पाइएकाले नेपालमा अवैध रूपमा अण्डा भित्र्याउने प्रलोभन नै नभएको उनले बताए।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५७ रुपैयाँ पर्ने भएकाले अहिलेको दररेटमा किसानले लागत मूल्य बराबरी पाउन थालेको कँडेलले बताए।
सङ्घका अध्यक्ष पोखरेलका अनुसार जाडो महिनामा अण्डाको माग स्वाभाविक रूपमा बढ्छ। “चिसोबाट जोगिन अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढ्ने गर्छ,” उनले भने।
तीन महिनाअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ पुगेको थियो। त्यसपछि क्रमशः ४०० रुपैयाँसम्म झरेको मूल्य अहिले फेरि बढ्दै किसानलाई लागत बराबरी आम्दानी हुने अवस्थामा पुगेको छ।
नेपालमा हाल दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने अनुमान छ।



तपाईको प्रतिक्रिया दिनुहोस