दराज ११.११ ले तोड्यो रेकर्ड, ब्रान्ड बिक्रीमा ४५०% सम्मको वृद्धि
दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ अभियान ऐतिहासिक सफलतासँग सम्पन्न भएको जनाएको छ। कम्पनीका अनुसार यसपटक दराजमलमा सहभागी ब्रान्डहरूले ४५० प्रतिशतसम्मको वृद्धि हासिल गरेका छन्।
नोभेम्बर १० (राति ८ बजे) देखि नोभेम्बर २१ सम्म सञ्चालन भएको अभियानमा लाखौँ उपभोक्ताले भारी छुट, दुई करोडभन्दा बढी मूल्यका विशेष भाउचर तथा विभिन्न क्युरेटेड डिलको लाभ उठाएका थिए। समग्र बिक्रीमध्ये ४८ प्रतिशत हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकबाट आएको दराजले जानकारी दिएको छ।
यो वर्षको ११.११ देशभरका विक्रेताका लागि पनि विशेष रूपमा सफल रहेको कम्पनीको भनाइ छ। ६ हजारभन्दा बढी विक्रेताले गत वर्षको बिक्रीलाई पछाडि पार्दै २०२५ को सबैभन्दा प्रभावशाली अभियानका रूपमा स्थापित गर्न योगदान गरेका थिए। यस पटक रेडमी, ग्लेन, भिभो, प्यानासोनिकलगायतका ब्रान्डहरूले उल्लेखनीय वृद्धि गरेका छन्।
नेपालमा क्यासलेस भुक्तानीतर्फ आकर्षण बढ्दै जाँदा, यस वर्ष ११.११ मा ३५ प्रतिशतभन्दा बढी खरिद डिजिटल माध्यम (वालेट तथा कार्ड) मार्फत भएको दराजले जनाएको छ। डेलिभरी सेवामा पनि सुधार भएको बताइँदै, सबैभन्दा छिटो अर्डर ६ घण्टामा पूरा भएको र सबैभन्दा टाढाको डेलिभरी विराटनगरदेखि भीमदत्तासम्म ९५२ किलोमिटर यात्रा गरेर सम्पन्न भएको जानकारी दिएको छ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले ११.११ ले फेरि पनि डिजिटल वाणिज्य नेपालको बजारलाई कसरी नजिक्याउँदैछ भन्ने प्रमाणित गरेको बताइन्। उनले नेपाली व्यवसायलाई सबल बनाउन तथा ग्राहक अनुभव अझ उत्कृष्ट बनाउन पाएकोमा गर्व महसुस भएको टिप्पणी गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस