Techie IT
२०८२ माघ १६, शुक्रबार

धानको मूल्य घट्दा मोरङका किसान मारमा


मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ। धान उत्पादनको हिसाबले देशकै अग्रणी जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन कम धान उत्पादन भएको छ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवकाका अनुसार कात्तिकको दोस्रो सातामा परेको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुगेकाले उत्पादन घटेको अनुमान गरिएको हो। उनका अनुसार गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन मात्र उत्पादन भएको छ।

यस्तै, गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमा सीमित भएको छ। यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ।

कृषिविज्ञ राजेन्द्र उप्रेतीका अनुसार खेतीयोग्य जमिन आसपासका खोलानाला अतिक्रमण र मासिने क्रम बढेकाले पानीको निकास हुन नसक्दा पाकेको धानमा बढी क्षति पुगेको हुनसक्छ। ‘यस वर्ष धान उत्पादन समग्रमा राम्रो देखिएको भए पनि थन्क्याउने समयमा परेको बेमौसमी वर्षाले ठूलो असर पारेको छ,’ उनले भने।

बेलबारी नगरपालिका–११ भाङबारीका किसान वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमध्ये करिब ९० मन धान बेमौसमी वर्षाले नोक्सान गरेको बताए। उनका अनुसार उत्पादनमा क्षतिसँगै धानको मूल्यसमेत घटेकाले किसान थप चिन्तामा परेका छन्।

यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म रहेको खत्रीले बताए। गत वर्ष मङ्सिर महिनामा धानको मूल्य प्रतिमन एक हजार ७०० देखि एक हजार ८०० रुपैयाँसम्म कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट