कोरला नाकाबाट दुई हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिए
मुस्ताङस्थित कोरला नाकाबाट हालसम्म करिब रु ११ अर्ब १ करोड ९५ लाख बराबरको मालवस्तु आयात-निर्यात भएको छ। गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल-चीन सीमा नाका कोरला हुँदै १० पुससम्म उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार, नाका सञ्चालनमा आएयता चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाख बराबरको मालवस्तु नेपाल भित्रिएको छ। त्यसैगरी, हस्तकला लगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी गरिएको छ।
कोरला नाकाबाट हालसम्म २ हजार ७४ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। आइतबारदेखि थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रम जारी रहेको भन्सार प्रमुख खड्काले बताए।
यसै महिनामा बीवाइडी (BYD) कम्पनीले मात्र कोरला नाकाबाट ५ सयभन्दा बढी विद्युतीय सवारीसाधन चीनबाट आयात गरिरहेको भन्सार कार्यालयले जनाएको छ। तीमध्ये ३०० भन्दा बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको खड्काले जानकारी दिए।
कोरला नाकाबाट आयात-निर्यात भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट हालसम्म रु ५ अर्ब ६ करोड ६२ लाख राजस्व संकलन भएको छ।
नेपाली बजारमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै विभिन्न कम्पनीहरूले चीनमा उत्पादित विद्युतीय सवारी कोरला नाकाबाट आयात गर्दै आएका छन्। इन्धन बचत र कार्बन उत्सर्जन घटाउने उद्देश्यले सरकारले विद्युतीय सवारीमा भन्सार सहुलियत दिएकाले यसको माग उल्लेख्य रूपमा बढेको हो।
हिउँदयामको प्रतिकूल मौसमका बाबजुद पनि चीनबाट कोरला नाका हुँदै विद्युतीय सवारीसाधनको आयात निरन्तर भइरहेको छ। ४,६१० मिटर उचाइमा अवस्थित कोरला नाकामा बिहान र बेलुकी तापक्रम माइनस २० डिग्रीसम्म झर्ने गरे पनि आयात-निर्यातको गतिविधि प्रभावित भएको छैन।
भन्सार जाँचपासपछि विद्युतीय सवारीसाधनलाई चालकहरूले जोमसोम हुँदै पोखरासम्म पुर्याउने गरेका छन्। पोखराबाट अर्को चालक समूहले ती सवारी सम्बन्धित कम्पनीका शोरुमसम्म पुर्याउने व्यवस्था मिलाइएको छ। त्यसअघि चिनियाँ भन्सारबाट सीमापार अनुमति प्राप्त चालकहरूले सवारी नेपालतर्फ कोरला नाकासम्म ल्याउने गरेका छन्।
नाकाबाट धमाधम विद्युतीय सवारी भित्रिन थालेपछि बेनी-जोमसोम-कोरला सडक खण्डमा सञ्चालित चार्जिङ स्टेशनहरू व्यस्त देखिएका छन्। हिउँदयाममा माथिल्लो मुस्ताङका धेरै बासिन्दा बेँसी झरे पनि कोरला नाकाबाट हुने आयात-निर्यात कारोबारमा कमी आएको छैन।
भन्सार प्रमुख खड्काका अनुसार, विद्युतीय सवारीसाधनबाहेक हाल पनि दैनिक १० देखि १२ वटा मालवाहक कन्टेनर नेपाल-चीनबीच आयात-निर्यात भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस