७१ अर्बको आईपीओ सेबोनको पाइपलाइनमा
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रियामा रहेका ११७ वटा कम्पनीहरूलाई ६ वटा फरक-फरक चरणमा वर्गीकरण गर्दै नियमन प्रक्रियालाई तीव्र बनाएको छ। हाल पाइपलाइनमा रहेका यी कम्पनीहरूले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी मूल्यको ५१ करोड ९ लाख कित्ता सेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेका छन्।
बोर्डको पछिल्लो वर्गीकरण अनुसार आईपीओ स्वीकृतिको अन्तिम समीक्षा चरण अर्थात् छैटौँ चरणमा आशुतोष इनर्जी (१२ करोड रुपैयाँ) र कान्तिपुर फर्मास्युटिकल्स ल्याब (१७ करोड रुपैयाँ) पुगेका छन्। यसैगरी, बोर्डले सोधेका प्रश्न र कैफियतको जवाफ पेस गरी पुनः समीक्षाको पर्खाइमा रहेका पाँचौँ चरणका १० कम्पनीहरू (एनसी एग्रोटेक, सानिमा हाइड्रोपावर, आइएमई लिमिटेड, सिउरी न्यादी पावर आदि) ले ५ करोड १९ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको तयारी गरेका छन्।
यस्तै, डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटलसहित १९ कम्पनी चौथो चरणमा रहेका छन् भने महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट गरी ४ कम्पनीलाई तेस्रो चरणमा राखेर थप विवरण माग गरिएको छ।
अझै पनि प्रारम्भिक अध्ययन र समीक्षाको पहिलो र दोस्रो चरणमै आकामा होटल, मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टसहित सर्वाधिक ८२ वटा कम्पनीहरू अल्झिएका छन्। धितोपत्र बोर्डले कम्पनीहरूले पेस गरेका वित्तीय विवरण, विवरणपत्र तथा कानुनी र नियामकीय मापदण्ड पूर्ण रूपमा पालना नभएसम्म कुनै पनि अवस्थामा आईपीओ निष्कासनको स्वीकृति नदिइने अडान दोहोर्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस