बिवाइडीले उछिन्यो टेस्लालाई, २२ लाखभन्दा बढी कार बिक्रीको नयाँ कीर्तिमान
बिवाइडीले पहिलो पटक वार्षिक विद्युतीय कार बिक्रीमा एलोन मस्कको टेस्लालाई उछिनेको छ
चिनियाँ विद्युतीय कार निर्माता बिवाइडी (BYD) ले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्दै विश्वव्यापी रूपमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो संख्या विश्वका कुनै पनि अन्य कार उत्पादकले वार्षिक रूपमा हासिल गर्न नसकेको उच्चतम बिक्री हो।
यससँगै बिवाइडीले पहिलो पटक वार्षिक विद्युतीय कार बिक्रीमा एलोन मस्कको टेस्लालाई उछिनेको छ। टेक्सासस्थित टेस्लाले सन् २०२५ सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार विद्युतीय कार बिक्री गरेको जनाएको छ। टेस्लाले शुक्रबार सन् २०२५ को कुल बिक्री विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
हाइब्रिड कारसमेत उत्पादन गर्ने शेन्जेनमा मुख्यालय रहेको बिवाइडीले हङकङ स्टक एक्सचेन्जमार्फत् सार्वजनिक गरेको विज्ञप्तिमा यी तथ्याङ्क सार्वजनिक गरेको हो।
‘बिल्ड योर ड्रिम्स’ को संक्षिप्त रूप बिवाइडी सन् १९९५ मा मूलतः ब्याट्री उत्पादनका लागि स्थापना भएको कम्पनी हो। हाल बिवाइडी विश्वकै सबैभन्दा ठूला विद्युतीय कार उत्पादकहरूमध्ये एकका रूपमा स्थापित भइसकेको छ र चीनको अत्यधिक प्रतिस्पर्धी नयाँ ऊर्जा सवारी बजारमा उसले बलियो प्रभुत्व जमाएको छ।
चीनभित्र बढ्दो मूल्य प्रतिस्पर्धा र उपभोक्ता व्यवहारमा आएको परिवर्तनका कारण नाफामा दबाब परे पनि बिवाइडीले विदेशमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेको छ। दक्षिणपूर्व एशिया, मध्य पूर्व र युरोपमा बिवाइडीको बजार विस्तार तीव्र गतिमा बढ्दै गएको छ, जसले युरोपका परम्परागत अटोमोबाइल उद्योगहरूलाई चिन्तामा पारेको छ।
यद्यपि बिवाइडी र यसका अन्य चिनियाँ प्रतिस्पर्धीहरूलाई संयुक्त राज्य अमेरिकामा भारी भन्सार शुल्क र व्यापारिक अवरोधको सामना गर्नुपरेको छ।
गत सन् २०२४ मा भने टेस्लाले वार्षिक विद्युतीय कार बिक्रीमा बिवाइडीलाई झिनो अन्तरले पछि पारेको थियो। सन् २०२४ मा टेस्लाले १७ लाख ९० हजार कार बिक्री गर्दा बिवाइडीको बिक्री १७ लाख ६० हजारमा सीमित भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस