Techie IT
२०८२ माघ १३, मंगलबार

सेयर बजारमा करेक्सनबीच ७ महिनाकै उच्च कारोबार, बजार बढ्नुको कारण ?


निरन्तर उकालो यात्रामा रहेको सेयर बजारमा सोमबार सामान्य करेक्सन देखिएको छ। लगातार बढ्दै आएको बजारमा लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ लागेपछि नेप्से परिसूचक ३.७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेको हो। तर, परिसूचक घटे पनि कारोबार रकम भने पछिल्ला करिब सात महिनाकै उच्च तहमा पुगेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता झनै बढेको संकेत गरेको छ।

सोमबार कुल १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि २०८२ साउन १४ मा १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो। ३३३ कम्पनीका तीन करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर कारोबार हुँदा ८८ कम्पनीको मूल्य बढ्यो भने १६५ कम्पनीको घट्यो। सात कम्पनीको मूल्य स्थिर रह्यो।

बजारमा करेक्सन आउँदा पनि कारोबार उच्च हुनुका मुख्य कारणहरूमा पछिल्ला दिनहरूमा देखिएको तीव्र उकालोपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्नु, अल्पकालीन कारोबारीहरूको सक्रियता बढ्नु र बजारमा तरलता सहज हुँदै जानु प्रमुख मानिन्छ। विश्लेषकहरूका अनुसार गिरावटलाई अवसरका रूपमा प्रयोग गर्दै धेरै लगानीकर्ताले पुनः सेयर खरिदमा चासो देखाएका छन्, जसले किनबेचको मात्रा बढाएको हो।

आज पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको मूल्य प्रतिकित्ता १० प्रतिशतले उकालो लागेको हो। अर्कोतर्फ, नेसनल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ३.१२ प्रतिशतले घटेर २१४ रुपैयाँमा झरेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रह्यो। कम्पनीको प्रतिकित्ता ५०५ रुपैयाँमा ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा आँखुखोला जलविद्युत रहेको छ, जसको प्रतिकित्ता २८२ रुपैयाँ २० पैसामा ५६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

समूहगत परिसूचक हेर्दा १३ वटा समूहमध्ये चार समूह बढेका छन् भने आठ समूह घटेका छन्। होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले उकालो लागेको छ।

समग्रमा, बजारमा करेक्सन देखिए पनि कारोबार रकम उच्च रहनुले लगानीकर्ताको मनोबल अझै बलियो रहेको संकेत गर्छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट