आज नेप्से परिसूचक करिब स्थिर
बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन लगभग स्थिर रह्यो। नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ। यसैबीच, सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेका छन्।
नेप्से स्थिर रहँदा कारोबार रकम भने सामान्य रूपमा बढेको छ। मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३२९ स्टकको ८२ हजार ४५० पटकको कारोबारमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।
सर्वाधिक बढेका शेयरहरूमा रिडी पावर ९.६७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ८.५ प्रतिशतभन्दा बढी बढेको छ भने आँखुखोला जलविद्युतको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सुपर माई हाइड्रोपावरको शेयर मूल्य ६.३९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको शेयर कारोबार ६५ करोड ४७ लाख रुपैयाँ बराबरको भएको छ। आँखुखोला जलविद्युत कम्पनीको कारोबार ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको कारोबार ५८ करोड रुपैयाँभन्दा बढीको भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य रूपमा बढेको छ, बाँकी समूहको परिसूचक सामान्य अंकले घटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस