Techie IT
२०८२ चैत्र ४, बुधबार

महासङ्घ नेतृत्वमा सहमति नभए एकता कमजोर हुन्छ – अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन्।

ललितपुर उद्योग वाणिज्य महासङ्घको ५९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले महासङ्घभित्र सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न सके संस्थागत एकता अझ मजबुत हुने बताए। निजी क्षेत्रको साझा संस्थाको नेतृत्व पनि साझा सहमतिबाटै चयन हुनुपर्ने उनको धारणा थियो।

अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उत्पादनको गुणस्तर कायम राख्दै परिमाण पनि बढाउनुपर्नेमा जोड दिए। उनले परम्परागत सीप, कला र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको उल्लेख गरे। साथै, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न गुणस्तरसँगै उत्पादन क्षमता विस्तार अनिवार्य रहेको बताए।

उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। त्यसका लागि निजी क्षेत्र एकीकृत आवाजमा प्रस्तुत हुन आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट आएका सुझाव समेट्दै महासङ्घको विधान संशोधन गरिएको जानकारी दिए। संशोधित विधानले सङ्गठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले जिल्ला, नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट