Techie IT
२०८३ वैशाख १५, मंगलबार

नेपाल बन्दै छ !!

देशमा केही भएन भन्ने भाष्यलाई रास्वपा अर्थमन्त्रीले नै दिए चुनौती

तथ्यांकले पछिल्लो एक दशकमा नेपालको अर्थतन्त्रले उल्लेखनीय फड्को मारेको देखाएको छ


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थ मन्त्रालयले मुलुकको आर्थिक रूपान्तरणका लागि ११ वटा बहुआयामिक अवसरहरू पहिचान गर्दै ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। 

नयाँ सरकार गठनपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको उक्त दस्तावेजले आर्थिक चुनौतीबीच पनि रूपान्तरणका ठोस आधारहरू प्रस्तुत गरेको छ। स्थितिपत्रमा सुशासन र लगानीमैत्री वातावरण, जलविद्युतको विशाल सम्भावना, उच्च मूल्यको पर्यटन, डिजिटल अर्थतन्त्र, कृषिको आधुनिकीकरण, औद्योगिक विकास, पूर्वाधार विस्तार, विप्रेषणको उत्पादनमूलक उपयोग, वित्तीय सुदृढीकरण, प्राकृतिक स्रोतको दिगो उपयोग र संस्थागत सुधारलाई प्रमुख अवसरका रूपमा अघि सारिएको छ। 

सरकारले स्थिर नीति, निजी क्षेत्रको विश्वास र प्रविधि भित्र्याउन सके ती अवसरहरूलाई आर्थिक वृद्धिको इञ्जिन बनाउन सकिने निष्कर्ष निकालेको छ। 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले पछिल्लो एक दशकमा नेपालको अर्थतन्त्रले उल्लेखनीय फड्को मारेको देखाएको छ। आर्थिक वर्ष २०७२/७३ मा २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको अर्थतन्त्रको आकार २०८१/८२ मा बढेर ६१ खर्ब ७ अर्ब पुगेको छ। त्यस्तै प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १,५१७ पुगेको छ भने विद्युत् उत्पादन क्षमता करिब ६ गुणा बढेर ४,१०५ मेगावाट पुगेको छ।

पूर्वाधार विस्तारतर्फ कालोपत्रे सडक ११ हजार किलोमिटरबाट बढेर २० हजार किलोमिटर नाघेको छ भने विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको छ। विदेशी विनिमय सञ्चिति १० खर्बबाट बढेर ३४ खर्ब नाघेको छ भने विप्रेषण आप्रवाह ६ खर्बबाट बढेर १७ खर्ब रुपैयाँ पुगेको छ।

यद्यपि सार्वजनिक ऋण ५ खर्ब ४४ अर्बबाट बढेर २८ खर्ब ७८ अर्ब पुगेको, आयात निर्भरता उच्च रहेको, निजी लगानी सुस्त रहेको र कार्यान्वयन क्षमता कमजोर रहेको जस्ता चुनौतीहरू पनि दस्तावेजले औँल्याएको छ।

स्थितिपत्रले ‘देशमा केही भएन’ भन्ने प्रचलित भाष्यलाई तथ्यांकमार्फत चुनौती दिँदै पछिल्लो दशकमा भएको संरचनात्मक, आर्थिक र सामाजिक सुधारलाई उजागर गरेको छ। मन्त्रालयका अनुसार यो दस्तावेज आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शक आधारका रूपमा रहनेछ।

सरकारले आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक लैजाने र वार्षिक औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसमेत अघि सारेको छ।

हेर्नुहोस् ,नेपालको आर्थिक स्थितिको वारेमा तयार गरिएको स्वेत पत्र



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट