२० वर्षपछि खुल्दै नरैनापुर छोटी भन्सार, तस्करी नियन्त्रण र व्यापार विस्तारको अपेक्षा
द्वन्द्वकालदेखि बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ। भन्सार विभागले नेपालगञ्ज भन्सार कार्यालयअन्तर्गत रहने गरी उक्त छोटी भन्सार सञ्चालनको तयारी तीव्र बनाएको जनाएको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनको काम अघि बढिरहेको छ। उनले नरैनापुर छोटी भन्सार अस्थायी पैठारी तथा घरायसी प्रयोजनका सामग्री आयातका लागि मात्रै प्रयोग हुने स्पष्ट पारे।
भन्सार नियमावली, २०८३ मा नरैनापुर छोटी भन्सार स्थापना सम्बन्धी व्यवस्था समेटिएपछि स्थानीय व्यवसायी तथा व्यापारी उत्साहित बनेका छन्। नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जर्नादन पौडेल ले बाँकेका सात वटा छोटी भन्सारमध्ये तत्काल नरैनापुरलाई मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार अवैध सामान ओसारपसारको जोखिमलाई मध्यनजर गर्दै भन्सार जाँचलाई कडाइ गरिनेछ। नरैनापुर नाकाबाट आलु, प्याज तथा केही पशुचौपाया आयात हुन सक्ने बताइएको छ।
उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओली ले छोटी भन्सार पुनः सञ्चालन स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। उनका अनुसार मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारमार्फत प्रवेश नहुने भएकाले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा समेत सहयोग पुग्नेछ।
सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ ले नरैनापुर छोटी भन्सारलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले जमुनाहा नाकाको भीड कम गर्न मद्दत पुग्ने बताए। उनले पारदर्शी ढंगले सञ्चालन भए राज्यको राजस्व वृद्धि हुने धारणा राखे।
‘चोरी निकासी बन्द हुनुपर्छ र स्थानीयले यसको प्रत्यक्ष लाभ पाउनुपर्छ। यसबाट राज्यको राजस्व सङ्कलनमा थप टेवा पुग्छ,’ श्रेष्ठले भने। सङ्घका अर्का पूर्वअध्यक्ष नन्दलाल वैश्य ले पनि नरैनापुर छोटी भन्सार सञ्चालनलाई नेपालगञ्जका व्यवसायीका लागि सकारात्मक अवसरका रूपमा व्याख्या गर्दै अवैध व्यापार निरुत्साहित हुने विश्वास व्यक्त गरे।
द्वन्द्वकालमा सुरक्षा संवेदनशीलताको कारण बाँकेका सात वटा छोटी भन्सार बन्द गरिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस