Techie IT
२०८३ जेष्ठ २०, बुधबार

बीमा नीति परिवर्तनको प्रत्यक्ष असर सेयर बजारमा, निर्जीवन बीमा समूह ३.३७ प्रतिशतले वृद्धि


सरकारले बजेटमार्फत ल्याएको नयाँ व्यवस्थाका कारण बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण तीव्र देखिएको छ। सवारी साधनको तेस्रो पक्ष बीमाको बीमांक रकम ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो। यस व्यवस्थाले निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

यसबाहेक, बजेटले दुर्घटना बीमा, घातक रोग बीमा र ढुवानी सेवा बीमा समेत अनिवार्य गर्ने घोषणा गरेकाले यी कम्पनीहरूको व्यावसायिक दायरा अझ फराकिलो हुने सम्भावना छ। यही उत्साहका बीच बुधबार नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक भने सर्वाधिक ३.३७ प्रतिशतले उकालो लागेको छ।

बजारमा कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। मङ्गलबार ५ अर्ब २६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। यसदिन ३४७ वटा धितोपत्रको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच भयो। कारोबार भएकामध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटाको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।

बुधबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, एसबिएल डिबेन्चरको मूल्य १४.९३ प्रतिशतले बढेर प्रतिडिबेन्चर १ हजार २०१ रुपैयाँ कायम भएको छ।

यता, सर्वाधिक मूल्य घट्नेमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) अग्रस्थानमा रह्यो। कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ८७ रुपैयाँ १० पैसामा झरेको छ। यसैगरी, एनबिबिएल डिबेन्चरको मूल्य ३.५६ प्रतिशतले घट्दै प्रतिडिबेन्चर १ हजार ८३ रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा बुधबार आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको प्रतिकित्ता ४४० रुपैयाँका दरले ४४ करोड २३ लाख रुपैयाँ बराबरको सर्वाधिक कारोबार भयो, जुन अघिल्लो दिनको तुलनामा ०.०२ प्रतिशत बढी हो। दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहमा हरियाली छाएको छ भने बाँकी ६ समूहको परिसूचकमा गिरावट दर्ता भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट