२४ घण्टामै २,४४५ चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि प्रहरीले निगरानी कडा बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै दुई हजार ४४५ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ। कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२८ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६० जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४१ जना तथा तीव्र गतिमा सवारी चलाउने १८३ जना रहेका छन्।
त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १४ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १६६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसका अतिरिक्त विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४८७ जना चालकसमेत कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस