विश्व सेयर बजारमा भूइँचालो ल्याउने ओपनएआईको तयारी, आईपीओको जारी गर्दै
अमेरिकी कृत्रिम बौद्धिकता (एआई) क्षेत्रको अग्रणी कम्पनी 'ओपनएआई' ले प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि गोप्य रूपमा आवेदन दर्ता गरेको खुलासा भएको छ। यस कदमसँगै कम्पनी हालैका वर्षहरूकै सबैभन्दा बहुप्रतीक्षित सेयर बजार प्रवेशको अन्तिम तयारीमा जुटेको हो।
ओपनएआईको यो रणनीतिक निर्णय उसका प्रमुख प्रतिस्पर्धी कम्पनी 'एन्थ्रोपिक' ले आईपीओ जारी गर्ने घोषणा गरेलगत्तै र 'स्पेसएक्स' को आईपीओ आउनुअघि सार्वजनिक भएको हो। आईपीओ प्रक्रिया पूरा भएसँगै यी तीनवटै विशाल प्रविधि कम्पनीहरूको बजार मूल्याङ्कन ह्वात्तै बढ्ने अनुमान गरिएको छ।
कम्पनीले बजारमा आईपीओ कहिले जारी गर्ने भन्ने विषयमा अन्तिम निर्णय भने गरिसकेको छैन। आवेदन गोप्य रूपमा दर्ता गरिएकाले कम्पनीले कति कित्ता सेयर बिक्री गर्ने र त्यसको मूल्य कति निर्धारण गर्ने भन्ने वित्तीय विवरणहरू अहिले सार्वजनिक गरिएको छैन।
ओपनएआईले आफ्नो आधिकारिक समाचार कक्ष (न्यूजरुम) मार्फत जारी गरेको वक्तव्यमा निजी कम्पनीका रूपमा अझै केही योजनाहरू अघि बढाउन सहज हुने भएकाले सार्वजनिक कम्पनी बन्न केही समय लाग्न सक्ने उल्लेख गरेको छ। यद्यपि, परिस्थिति र आवश्यकता अनुसार छिट्टै सार्वजनिक कम्पनी बन्ने विकल्प खुला राखिएको समेत कम्पनीको भनाइ छ।
सार्वजनिक कम्पनीमा रूपान्तरण भएपछि 'वाल स्ट्रिट' लगायतका विश्वव्यापी वित्तीय बजारले ओपनएआईको वास्तविक आय, खर्च तथा समग्र वित्तीय अवस्थाबारे विस्तृत जानकारी पाउनेछन्। कम्पनीले हाल एआई पूर्वाधार, अत्याधुनिक चिप्स तथा कम्प्युटिङ क्षमता विस्तारका लागि अर्बौँ डलर लगानी गरिरहेको छ।
गत मार्चमा १२२ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी जुटाएसँगै ओपनएआईको कुल मूल्याङ्कन करिब ८५२ अर्ब अमेरिकी डलर पुगेको थियो। यद्यपि, यति विशाल मूल्याङ्कनलाई न्यायोचित साबित गर्न कम्पनीले आगामी दिनमा पर्याप्त आम्दानी गरेर देखाउनुपर्ने तीव्र दबाब पनि सिर्जना भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस