Techie IT
२०८३ जेष्ठ ३१, आइतबार

इरान–अमेरिका युद्धको बाछिटा: डलर बलियो बन्दा सुनको मूल्यमा तीव्र गिरावट


अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध युद्ध सुरु गरेयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार दबाबमा परेको छ।

सामान्यतया, विश्वव्यापी संकटका समयमा लगानीकर्ताहरूले मुद्रास्फीति (महँगी) विरुद्ध सुरक्षित लगानीका रूपमा सुनलाई रोज्ने गर्छन्, जसका कारण संकटका बेला यसको मूल्य तीव्र रूपमा बढ्छ। तर, यसपटकको भू-राजनीतिक संकटमा भने सुनको बजारमा उल्टो प्रवृत्ति देखिएको छ।

गत जनवरी २८ मा प्रतिट्रोय औँस (३१.१ ग्राम) ५ हजार ३०३ डलरको ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य, शुक्रबार घट्दै ४ हजार २३५ डलरमा झरेको छ। युद्ध सुरु भएयताका केही महिनामा सुनको मूल्यमा यो ठूलो गिरावट हो।

तीव्र रूपमा बढिरहेको महँगीका कारण केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना क्षीण बनेपछि सुनको मूल्य प्रभावित भएको हो। मूल्यवृद्धिलाई नियन्त्रणमा लिन बैंकहरूले ब्याजदर अझै बढाउन सक्ने चिन्ता वित्तीय बजारमा छाएको छ।

यो संकटको मुख्य कडी 'हर्मुज जलडमरू' (Strait of Hormuz) बनेको छ। अमेरिका र इजरायलको कदमविरुद्ध प्रतिशोधस्वरूप इरानले यो रणनीतिक जलमार्गमा अवरोध सिर्जना गर्दै आएको छ। तेल र ग्यास ढुवानीको यो प्रमुख मार्ग बन्द हुँदा विश्वभर ऊर्जाको मूल्य आकासिएको छ, यसले अन्ततः मुद्रास्फीति झनै बढाएको छ। हाल अमेरिकामा मात्रै मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दु (४.२ प्रतिशत) मा पुगेको छ। त्यसमाथि, रोजगारी बजार बलियो रहेकाले तत्कालै ब्याजदर घट्ने सम्भावना कमजोर बनेको छ।

सुन र ब्याजदरबिचको टक्कर
सुनलाई सुरक्षित लगानी मानिए पनि यसले बैंकिङ निक्षेप वा ऋणपत्रले जस्तो नियमित प्रतिफल (ब्याज वा लाभांश) दिँदैन। वित्तीय वेबसाइट 'अप्सनस्प्रेडर्स डटकम'का प्रमुख विश्लेषक जस्टिन कार्डवेलका अनुसार, "सम्पत्तिका हिसाबले सुन वास्तविक मुद्रासँग सबैभन्दा नजिक छ। तर, यसले कुनै लाभांश दिँदैन। मानिसहरू केवल मूल्य बढ्ने आशामा मात्र यसमा लगानी गर्छन्।"

यही कारणले गर्दा बैंकिङ ब्याजदर र सुनबिच सिधा प्रतिस्पर्धा हुने गर्छ। कार्डवेल थप्छन्, "यदि ब्याजदर उच्च रह्यो र मानिसहरू अमेरिकी डलरतर्फ आकर्षित भए भने, लगानीका रूपमा सुनको आकर्षण स्वतः घट्छ।"

इरानसँगको यो द्वन्द्वले अमेरिकी डलरलाई झनै बलियो बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार डलरमा हुने भएकाले डलर बलियो हुँदा सुनको मूल्य घट्ने गर्छ। 'नोबल गोल्ड इन्भेस्टमेन्ट्स'का प्रमुख कार्यकारी अधिकृत (CEO) कोलिन प्लुम भन्छन्, "डलर बलियो हुनु नै अहिले सुनको मूल्य दबाबमा पर्नुको मुख्य कारण हो। तर, आगामी दिनमा बजार कुन दिशामा जान्छ भन्ने कुरा अझै अनिश्चित छ।"

इरानसँगको युद्ध सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको केन्द्रीय बैंक 'फेडरल रिजर्भ'लाई ब्याजदर कटौती गर्न ठूलो दबाब दिएका थिए। तर, बदलिएको परिस्थितिका कारण आगामी डिसेम्बरसम्ममा ब्याजदर उल्टै बढ्ने सम्भावना ५० प्रतिशतभन्दा बढी देखिएको छ।

"ब्याजदर र मुद्रास्फीति दुई विपरीत ध्रुव हुन्, जसको चेपुवामा सुन परेको छ," प्लुमले विश्लेषण गरे, "सन् २०२६ को विशेषता नै के भइदियो भने यी दुवै कुरा एकैपटक भइरहेका छन् र अहिले ब्याजदरको पल्ला भारी देखिएको छ।"

यद्यपि, शुक्रबार अमेरिका र इरानबिच सम्भावित वार्ता वा सम्झौता हुन सक्ने खबर सार्वजनिक भएपछि सुनको मूल्यमा सामान्य सुधार आएको छ। युद्ध अन्त्यको संकेतले मुद्रास्फीति घट्ने अपेक्षा जगाउने भएकाले यो सुन बजारका लागि सकारात्मक मानिन्छ। तर, विश्लेषक कार्डवेलका अनुसार युद्ध रोकिए पनि सुनको मूल्यलाई पूर्ववत् अवस्थामा फर्किन नदिने अन्य आर्थिक कारकहरू अझै केही महिनासम्म कायमै रहनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट