भारतमा रहेका नेपालीले अब मोबाइल एपबाटै सिधै नेपाल पैसा पठाउन सक्ने
विगत दुई दशकदेखि सेवा प्रदान गर्दै आएको सामसारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी सामसारा रेमिट र पशुपति पे इन्डियाबीच रणनीतिक साझेदारी भएको छ। यस सम्झौतासँगै भारतमा रहेका नेपालीहरूले अब मोबाइलबाटै सहज र सुरक्षित रूपमा नेपाल पैसा पठाउन सक्ने भएका छन्।
यो सेवा प्रयोग गर्न भारतमा रहेका नेपालीहरूले 'पशुपति पे' एप डाउनलोड गरी अनलाइन केवाईसी (KYC) प्रमाणीकरण पूरा गर्नुपर्नेछ। त्यसपछि उनीहरूले घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट सिधै नेपालमा रकम पठाउन सक्नेछन्। यसका लागि अब एजेन्ट वा भौतिक शाखा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ।
हालसम्म धेरैजसो सेवाग्राहीले पैसा पठाउन एजेन्ट वा सेवा केन्द्र पुग्नुपर्ने अवस्था रहेकामा अब सम्पूर्ण प्रक्रिया मोबाइलमार्फत नै सम्भव भएको कम्पनीले जनाएको छ। यस प्रविधिले समय र लागत बचत गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रकम पठाउन सघाउने कम्पनीको दाबी छ।
सामसारा रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता तथा डिजिटल वालेटमा सिधै रकम पठाउन सकिनेछ। परम्परागत माध्यमको तुलनामा यो सेवा कम लागतको, पूर्ण रूपमा सुरक्षित र वैधानिक रहेको उनले बताए।
कम्पनीका अनुसार यस सेवाको शुल्क (कमिसन) प्रतिस्पर्धी एवं तुलनात्मक रूपमा कम छ। साथै, नयाँ ग्राहकलाई आकर्षित गर्न पहिलो कारोबार पूर्ण रूपमा निःशुल्क गरिएको छ।
हाल भारतमा करिब ३० देखि ३५ लाख नेपाली बसोबास गर्दै आए पनि १० देखि १५ प्रतिशतले मात्र औपचारिक (बैंकिङ) माध्यमबाट नेपाल पैसा पठाउने गरेका छन्। यस्तो अवस्थामा यो नयाँ डिजिटल सेवाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्न ठुलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विगत दुई दशकदेखि सेवा प्रदान गर्दै आएको सामसारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक, वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटमार्फत तुरुन्तै रकम भुक्तानी हुने व्यवस्था मिलाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस