विश्व बजारमा सुनको मूल्यमा तीव्र गिरावट
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ। पश्चिम एसियामा जारी भूराजनीतिक अनिश्चितताका बिच उच्च मुद्रास्फीति (महँगी) नियन्त्रण गर्न अमेरिकाले ब्याजदर बढाउन सक्ने प्रक्षेपणसँगै सुनको मूल्य सन् २००८ को अक्टोबरपछिकै सबैभन्दा ठुलो मासिक मन्दीतर्फ धकेलिएको हो।
सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ डलरमा झरेको छ। यो गिरावटसँगै चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो महिनाको गिरावट हो। यस्तै, आगामी अगस्ट महिनाका लागि अमेरिकी सुनको फ्युचर्स मूल्य पनि १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलर कायम भएको छ।
इरान तनावका कारण ऊर्जाको मूल्य तीव्र रूपमा बढेपछि महँगीको जोखिम र ब्याजदर वृद्धिको सम्भावना बलियो बनेको हो। फलस्वरूप, सुन सन् २०२४ यताकै पहिलो त्रैमासिक गिरावट र सन् २०१३ को जुन त्रैमासिकपछिकै सबैभन्दा ठुलो मन्दीतर्फ अघि बढेको देखिन्छ।
कारेक्सका विश्लेषक एडवर्ड मेयरका अनुसार अहिले बजारमा उच्च मुद्रास्फीति, ब्याजदर वृद्धिको तीव्र अपेक्षा र बलियो अमेरिकी डलर हाबी भएका छन्। यसले सुनको मूल्य बढाउने अन्य परम्परागत कारकहरूलाई छायामा पारिदिएको छ। सामान्यतया सुनलाई महँगीविरुद्ध सुरक्षित लगानी (हेज) का रूपमा हेरिने भए पनि उच्च ब्याजदर भएको वातावरणमा यसको आकर्षण कम हुने गर्दछ।
विश्व बजारका कारोबारीहरूले यस वर्ष अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड) ले तीन पटकसम्म ब्याजदर बढाउन सक्ने अपेक्षा गरेका छन्। सीएमई फेडवाच टुलका अनुसार आगामी सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावना ६४ प्रतिशत रहेको छ। फेडको आगामी कदमबारे थप प्रस्ट हुन लगानीकर्ताहरू यतिबेला यसै साता सार्वजनिक हुने जुन महिनाको एडीपी रोजगारी र ननफार्म पेरोल तथ्याङ्कको पर्खाइमा छन्। अमेरिकी डलर लगातार दोस्रो महिना पनि मजबुत बन्ने दिशामा अघि बढेकाले अन्य मुद्रा प्रयोगकर्ताहरूका लागि सुन खरिद महँगो साबित भएको छ।
अर्कोतर्फ, दोहामा यसै साता हुने इरान र अमेरिकाबिचको वार्ताको नतिजालाई लगानीकर्ताहरूले नजिकबाट नियालिरहेका छन्, यद्यपि इरानले भने अहिलेसम्म कुनै बैठक तय नभएको जनाएको छ। वार्ताको संवेदनशीलताका कारण कच्चा तेलको मूल्य पनि सन् २०२० यताकै सबैभन्दा तीव्र त्रैमासिक गिरावटको दिशामा छ।



तपाईको प्रतिक्रिया दिनुहोस