तेलको मूल्य घट्दा भाडा नघट्ने प्रवृत्तिले अन्योल बढायो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएलगत्तै यातायात व्यवसायीहरूले तत्काल स्वचालित प्रणाली अनुरूप सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग कडा माग गरेका छन्।
निगमले बुधबार बिहानैदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० घटाएको थियो। इन्धनको मूल्यमा आएको यो ठुलो गिरावटसँगै भाडा दरमा पनि तत्काल फेरबदल हुनुपर्ने दबाब सरकारमाथि बढेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले इन्धनको मूल्य घटबढ हुनासाथ स्वचालित प्रणालीबमोजिम भाडा समायोजन नगरिए आन्दोलन र अन्योलको स्थिति सिर्जना हुने चेतावनी दिएका छन्।
"इन्धनको मूल्य वृद्धि हुँदा तत्काल भाडा बढाउने, तर मूल्य घट्दा समयमै भाडा नघटाउने सरकारको गैरजिम्मेवार प्रवृत्तिका कारण यात्रु र व्यवसायी दुवै पक्ष मर्कामा परेका छन्," अध्यक्ष सिटौलाले भने, "सार्वजनिक सवारीको भाडा पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा तत्कालै समायोजन गरिनुपर्छ।"
महासङ्घले भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्र नभई सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, पाटपूर्जाको मूल्य र बैंकिङ ब्याजदर जस्ता समग्र आर्थिक सूचकहरूलाई वैज्ञानिक आधार मानेर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस