राष्ट्रिय वाणिज्य बैंकको डिजिटल छलाङ: अब घरमै बसी अनलाइनबाटै कर्जा आवेदन दिन सकिने
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आजदेखि अनलाइन कर्जा आवेदन सेवा (अनलाइन लोन एप्लिकेसन) को सुरुआत गरेको छ। बैंकले सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुरूप यो डिजिटल सेवा सञ्चालनमा ल्याएको हो।
बैंकका उप-कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा एवं अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न यो सेवा सुरु गरिएको हो। अब ग्राहकले घरमै बसेर डिजिटल माध्यमबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्।
“बैंकको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” सूचना अधिकारी रेग्मीले भने।कसरी दिने आवेदन?बैंकका अनुसार अनलाइन कर्जा आवेदनका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको 'अनलाइन लोन एप्लिकेसन' को लिङ्कमा क्लिक गरी ‘आरबीबी स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’ मा जानुपर्नेछ। उक्त पोर्टलमा आफ्नो इमेल, युजरनेम र पासवर्ड राखेर 'युजर रजिस्ट्रेसन' गरेपछि ग्राहकले सहजै कर्जाको आवेदन प्रक्रिया अघि बढाउन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस