अमेरिका जाने नेपालीले अब अनिवार्य ३० लाखसम्म 'भिसा बन्ड' राख्नुपर्ने
अमेरिका भ्रमणमा जाने योजना बनाइरहेका नेपाली नागरिकका लागि अब आर्थिक भार थपिएको छ। अमेरिकी विदेश मन्त्रालयले 'भिसा बन्ड' कार्यक्रमलाई स्थायी बनाउँदै नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (B-2) र व्यावसायिक (B-1) भिसामा कडाइ गरेको छ।
नयाँ व्यवस्थाअनुसार, अमेरिका जान चाहने नेपाली नागरिकले भिसा अन्तर्वार्ता अगावै १० हजार अमेरिकी डलर (करिब १३ लाख ५० हजार रुपैयाँ) देखि २० हजार अमेरिकी डलर (करिब २७ लाख रुपैयाँभन्दा बढी) सम्म धरौटी (बन्ड) राख्नुपर्नेछ। शुक्रबार अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार यो नियम सोमबारदेखि नै लागू हुँदैछ।
के हो नयाँ व्यवस्था?
अनिवार्य धरौटी: भिसा आवेदन गर्दा नै १० वा २० हजार डलर धरौटी राख्नुपर्ने।
रकम फिर्ता: भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेर तोकिएको समयमै स्वदेश फर्केमा धरौटी फिर्ता हुने।
जफत हुने अवस्था: भिसाको म्याद सकिएपछि पनि अमेरिकामा गैरकानुनी रूपमा बसेमा (ओभरस्टे) सो धरौटी रकम पूर्ण रूपमा जफत गरिने।
अमेरिकी सरकारले भिसा अवधि नाघेर लुकिछिपी बस्ने क्रमलाई निरुत्साहित गर्न यो कदम चालेको बताएको छ । तथ्यांकअनुसार, भिसा सकिएपछि ओभरस्टे हुने एक व्यक्तिलाई पक्राउ गरी देशनिकाला गर्न अमेरिकालाई औसतमा १८ हजार डलर खर्च लाग्ने गर्छ। परीक्षणका रूपमा सुरु गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि स्थायी बनाइएको अमेरिकी अधिकारीहरूको दाबी छ।
यो नियमले नेपाल, बंगलादेश र भुटानजस्ता दक्षिण एसियाली मुलुकका नागरिकलाई प्रत्यक्ष असर गर्नेछ। विज्ञहरूका अनुसार, यो व्यवस्थाले आर्थिक रूपमा कमजोर र वास्तविक पर्यटकहरूका लागि अमेरिका भ्रमण गर्ने ढोका थप साँघुरो बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस