भदौ अन्तिमदेखि नेपालगन्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन गर्दै बुद्ध एयर
लामो समयदेखि बन्द रहेको बुद्ध एयरलाइन्सको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा आगामी भदौको अन्तिम सातादेखि पुनः सञ्चालनमा आउने भएको छ।
निजी क्षेत्रको प्रमुख वायुसेवा प्रदायक बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि उक्त रुटमा पुनः उडान सुरु गर्ने घोषणा गरेको छ। बुद्ध एयर नेपालगन्जका स्टेसन म्यानेजर विनीतविक्रम शाहका अनुसार यात्रुहरूको बढ्दो मागलाई मध्यनजर गर्दै उडान पुनः सञ्चालन गर्ने निर्णय लिइएको हो।
विशेष गरी भारतको उत्तर प्रदेशलाई पर्यटकीय नगरी पोखरासँग सीधा हवाई मार्गबाट जोड्ने यस उडानप्रति भारतीय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। यसअघि गत जेठ ५ गते भारतीय धार्मिक पर्यटकको आवतजावतमा आएको कमी र उच्च इन्धन लागतका कारण उडान अस्थायी रूपमा स्थगित गरिएको थियो। हाल भारतीय पर्यटकको संख्यामा उल्लेख्य सुधार आएपछि सेवालाई निरन्तरता दिने तयारी गरिएको बुद्ध एयरले जनाएको छ।
यस क्षेत्रका पर्यटन व्यवसायीहरूको निरन्तर प्रयासपछि २०७८ साउन १७ गतेदेखि सुरु भएको यो सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायीहरू अत्यधिक हर्षित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस