Techie IT
२०८३ भाद्र ५, शुक्रबार

चालु आर्थिक वर्षको पहिलो महिनामै निर्यातमा ६१ प्रतिशतले वृद्धि


चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा मुलुकको वैदेशिक व्यापारमा उत्साहजनक सुरुवात देखिएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारका सूचकहरूमा उल्लेख्य सुधार आएको छ। विशेषगरी निर्याततर्फ उल्लेखनीय वृद्धि देखिए पनि आयात र व्यापार घाटाको आकारमा पनि एकसाथ वृद्धि भएको छ।

निर्यात र आयातको अवस्था
चालु आवको पहिलो महिनामा नेपालको निर्यातमा भारी सुधार आएको छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष ६१.७२ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

यसैगरी, आयाततर्फ पनि ३१.०४ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको थियो। आयात र निर्यातमा आएको यो फेरबदलसँगै कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

व्यापार घाटा र अनुपातमा सुधार
आयातको तुलनामा निर्यातको आकार अझै सानो हुँदा व्यापार घाटा भने २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

तथ्याङ्कको अर्को सकारात्मक पक्ष भनेको आयात–निर्यात अनुपातमा आएको सुधार हो। गत वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ५.९८ रुपैयाँको आयात हुने गरेकोमा यस वर्ष उक्त अनुपात घटेर ४.८४ मा कायम भएको छ। यसले मुलुकको निर्यात क्षमता विस्तार हुँदै गएको सङ्केत गरेको छ। कुल व्यापारमा निर्यातको अंश १४.३३ प्रतिशतबाट बढेर १७.११ प्रतिशत पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट