कारोबार रकम बढ्दा पनि साताभर नेप्से सुस्तायो
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब १ प्रतिशतले घटेर बन्द भएको छ। गत साता २,६४३.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९५ प्रतिशत अर्थात् २५.११ अंकले ओरालो लाग्दै २,६१८.७२ विन्दुमा सीमित हुन पुगेको छ।
पाँच दिन कारोबार भएको यस साता चार दिन बजार नकारात्मक रह्यो भने एक दिन मात्र सकारात्मक भएर बन्द भयो। मुख्य सूचकसँगै सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले घटेका छन्। बजारमा आएको यस गिरावटसँगै कुल बजार पूँजीकरण पनि गत साताको ४५ खर्ब ४७ अर्ब रुपैयाँबाट ४३ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ।
सूचक र बजार पूँजीकरण घटे पनि यस साता सेयर खरिदबिक्री रकममा भने उल्लेखनीय सुधार देखिएको छ। गत साता दैनिक औसतमा ३ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता १६.३० प्रतिशतले बढेर दैनिक औसत कारोबार रकम ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, दैनिक औसत सेयर संख्या १४.१९ प्रतिशत र कारोबार संख्या १०.०८ प्रतिशतले बढेको छ।
यस साता बजारमा रहेका १३ उपसमूहमध्ये २ वटा मात्र बढेका छन् भने ११ वटा उपसमूहका सूचक घटेका छन्। व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.११ प्रतिशतले बढेको छ। यता, वित्त उपसमूह सर्वाधिक २.३७ प्रतिशतले घटेको छ भने अंकका आधारमा जीवन बीमा उपसमूह सर्वाधिक २१०.४१ अंकले ओरालो लागेर ११,५९३.४२ विन्दुमा झरेको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये सर्वोत्तम पेन्ट्सको सेयरमूल्य सर्वाधिक १०१.०६ प्रतिशतले बढेर ७९७ रुपैयाँ ६ पैसा पुगेको छ भने माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको मूल्य पनि साढे ६९ प्रतिशतभन्दा बढीले बढेको छ। यता, खानी खोला हाइड्रोपावरको मूल्य सर्वाधिक २३.३९ प्रतिशतले घटेको छ। फ्लोरसिट विश्लेषणअनुसार नेपाल दूरसञ्चार कम्पनी, सर्वोत्तम पेन्ट्स र लक्ष्मी सनराइज बैंक मोस्ट पपुलर बाइ स्टक बनेका छन् भने मोदी इनर्जी र स्वरोजगार लघुवित्त मोस्ट पपुलर सेल स्टकको शीर्ष स्थानमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस