स्वरोजगार लघुवित्तले आजदेखि थप एफपीओ निष्काशन गर्ने
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन १८ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस शेयरको लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन प्राप्त नहुँदा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ ।
एफपीओ निष्काशनमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको एफपीओको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९३३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस