Techie IT
२०८२ वैशाख २५, बिहीबार

भट्टको राजीनामा स्वीकृत नगर्नु कामू गभर्नरको लाचारीपन : वित्तीय संस्था कर्मचारी संघ


नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नसक्नु कामु गभर्नर निलम तिम्सिना ढुंगानाको "लाचारीपन" को प्रतीक भएको आरोप लगाएको छ ।

संघका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बखेलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै गभर्नरको दावेदारी गर्दै आएकी ढुंगानाले वैशाख ५ गते बुझाइएको राजीनामा स्वीकृत गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । “आफूलाई योग्य भन्दै गभर्नर बन्ने आकांक्षा राख्ने नेतृत्वले एक कर्मचारीको राजीनामा स्वीकृत गर्न नसक्नु नैतिक र व्यवस्थापकीय कमजोरीको संकेत हो,” विज्ञप्तिमा उल्लेख छ ।

संघले यस्तो कार्य संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन नियमावली २०६५ को नियम ३५ र राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को समेत ठाडो उल्लंघन भएको दाबी गरेको छ ।

संघको आरोप छ कि गभर्नरजस्तो संवेदनशील पद राजनीतिक दाउपेचमा फसाइएको छ र वर्तमान नेतृत्व त्यसमा संलग्न देखिएको छ । “राष्ट्र बैंकको गरिमा माथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु दुःखद छ,” विज्ञप्तिमा भनिएको छ ।

एक महिनासम्म गभर्नरको नियुक्ति हुन नसकेको अवस्थामा केन्द्रीय बैंक नीतिगत निर्णय गर्न असमर्थ भएको र बजेट निर्माणको संवेदनशील समयमा प्रभावहीन बन्नु सरकारको उदासिनताको नतिजा भएको संघको टिप्पणी छ ।

संघले सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरमा नियुक्त गर्न सरकारलाई अपिल गरेको छ । मंगलबार संघका प्रतिनिधिहरूले कार्यवाहक गभर्नर ढुंगानासँग भेट गरी आपत्ति राखेका थिए । भेटका क्रममा ढुंगानाले आफू पूर्ण गभर्नर नभएकाले राजीनामा स्वीकृत गर्न नसक्ने जवाफ दिएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट