धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासी । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।
मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ । गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्विन्टल धान बेचेका थिए ।
बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु भएका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन् । यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए ।
गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताउनुभयो । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।
सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताउनुभयो । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताएका छन् । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस