Techie IT
२०८३ जेष्ठ १०, आइतबार

बेमौसमी बन्दाले करोडौँको आम्दानी


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकहरूले बेमौसमी बन्दाखेतीबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै गाउँमा आर्थिक समृद्धि भित्र्याएका छन्।

अनुकूल हावापानी, उच्च पहाडी भूगोल (२२५० मिटर उचाइ), राम्रो बजार मूल्य र नगद आम्दानीको सम्भावनाका कारण टिकोटका बासिन्दाले परम्परागत बाली कोदो र मकै रोप्ने जमिनमा अब बन्दा लगाउन थालेका हुन् ।

वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनका अनुसार टिकोटका लगभग एक सयमध्ये अधिकांश घरपरिवारले अहिले बन्दा खेती गरिरहेका छन् । “गत वर्ष मात्रै बन्दा बिक्रीबाट करिब एक करोड रुपैयाँ बराबरको आम्दानी भएको थियो,” उनले भने, “यसपालि कृषक संख्या र खेती क्षेत्र दुबै बढेकाले उत्पादन र आम्दानी अझै बढ्ने अपेक्षा गरेका छौं ।”

कृषकहरूमध्ये कोहीले वार्षिक १ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

तीन–चार वर्षअघि बुद्धिवीर पुन, टिका पाइजा र अन्य तीन जनाले सुरु गरेको बन्दाखेती अहिले टिकोटका सयौं कृषकको मुख्य आयस्रोत बनेको छ। प्रारम्भमा ५ जनाबाट सुरु भएको यो प्रयास अहिले सामूहिक बन्दै गएको हो ।

कृषक मनराज गर्बुजाका अनुसार खाद्यबालीभन्दा बन्दा खेती छिटो फस्ने र नगद आम्दानी दिने भएकाले उनीहरूले कोदो र मकैको सट्टा बन्दा खेती रोजेका हुन् । “गत वर्ष एक लाख बराबरको बन्दा बेचेँ,” उनले भने, “यसपालि १४ रोपनीमा बन्दाखेती गरिरहेको छु।”

जेठमा रोपिएको बन्दा असारको अन्तिम सातादेखि भदौ महिनासम्म बिक्री हुने हुन्छ। कृषकहरूले बेर्ना सार्ने समय फरक पारेर बजारको माग अनुसार बन्दा उत्पादन र बिक्रीको समय मिलाएका छन् । गत वर्ष प्रतिकिलो ५० रुपैयाँमा बन्दा बिक्री भएको थियो।

यहाँको उत्पादन बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका बजारमा पुगी सकेको छ। कृषक टिका पाइजा पुनका अनुसार टिकोटको बन्दा विषादीरहित भएकाले बजारमा यसको विशेष माग छ। “गाईभैंसीको गोबर, गहुँत र जैविक मल प्रयोग गरेर बन्दाखेती गरिरहेका छौं,” उनले भने, “प्राङ्गारिक तरिकाले उत्पादन भएको बन्दा राम्रो मूल्यमा बिक्री हुँदा हामी अझै उत्साहित भएका छौं।”

यसैबीच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोटमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ। गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीका अनुसार पकेट कार्यक्रमअन्तर्गत कृषकहरूलाई बीउ, औजार र प्रविधिमा अनुदान दिइएको छ। चालु आर्थिक वर्षमा १२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको र आगामी वर्षका लागि थप ६ लाख विनियोजन भइसकेको उनले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट