संभावित विपद्का कारण असोज ८ र ९ गते विद्यालय बिदा गर्न आग्रह
शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहको समन्वयमा आवश्यकता अनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा दिन आग्रह गरेको छ।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रअनुसार, असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, साथै हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको छ।
यसैगरी, विश्वविद्यालय तथा विभिन्न परीक्षा सञ्चालन गर्ने निकायहरूलाई पनि उक्त अवधिमा (असोज ९ देखि ११ गतेसम्म) निर्धारित गरिएका परीक्षाहरू आवश्यकता अनुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ। साथै, सम्भावित विपद्का बेला सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न भनिएको छ भने बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको उच्च जोखिम भएका स्थानहरूमा जान नदिन अभिभावकहरूलाई विशेष सचेत गराउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस