तनहुँमा दुई नयाँ मतदान केन्द्र थप गर्ने माग
तनहुँ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई नयाँ मतदान केन्द्र थप गर्ने निर्णयसहित सिफारिस निर्वाचन आयोगमा पठाइएको छ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको संयोजकत्वमा गठन भएको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले दुई मतदान केन्द्र थप गर्ने निर्णय गरी आयोगलाई सिफारिस गरेको हो।
नयाँ मतदान केन्द्र ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा राखिनेछ। यसअघि यी दुबै वडामा एक–एक मतदान केन्द्र रहेका थिए। स्थानीय आवश्यकताका आधारमा ऋषिङ गाउँपालिकाले नयाँ केन्द्र थप्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।
उनका अनुसार सुरक्षा तथा प्राविधिक पक्षको मूल्याङ्कनका लागि जिल्ला सुरक्षा समितिले केही दिनअघि यी स्थानहरूको स्थलगत निरीक्षण गरेको थियो।
तनहुँका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्र मिलाएर हाल ३०५ मतदान केन्द्र रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस