Techie IT
२०८२ श्रावण १२, सोमबार

अमेरिकाले गरिब देशका लागि किनेका गर्भनिरोधक सामग्री जलाउँदै


अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (USAID) अन्तर्गत वितरणका लागि खरिद गरिएका झन्डै एक करोड अमेरिकी डलर मूल्यका परिवार नियोजनका सामग्री फ्रान्समा लगेर जलाउने तयारी अमेरिकाले थालेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यी सामग्रीहरू युएसएड कार्यक्रममार्फत गरिब मुलुकहरूमा निःशुल्क वितरण गर्ने उद्देश्यले खरिद गरिएका थिए। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागू गरेको कडा नीतिका कारण बेल्जियमको एन्डवर्प प्रान्तको गोल सहरस्थित गोदाममा महिनौंदेखि थन्किएर बसेका छन्।

अब ती सामग्रीहरू दर्जनौं ट्रकमार्फत फ्रान्सको एक मेडिकल फोहोर जलाउने केन्द्रमा पुर्‍याएर नष्ट गर्ने तयारी गरिएको छ। अनुमानित खर्च १ लाख ६० हजार डलरभन्दा बढी हुनेछ, र यस प्रक्रिया पूरा गर्न झन्डै दुई हप्ता लाग्ने बताइएको छ।

के-के छन् ती सामग्रीहरूमा?
गोदाममा थन्किएका ती सामग्रीहरूमा गर्भनिरोधक चक्की, इम्प्लान्ट र युटेरसभित्र राखिने उपकरण (IUD) छन्। तीमध्ये अधिकांशको म्याद २०२७ देखि २०३१ सम्मको छ, जसका कारण अझै वर्षौंसम्म प्रयोग गर्न सकिने स्थिति रहेको देखिन्छ। बेल्जियम सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) र गैरसरकारी संस्था MSI Reproductive Choices जस्ता निकायहरूले ती सामग्री आफूलाई बेच्न वा हस्तान्तरण गर्न प्रस्ताव गरेका थिए। उनीहरूले USAID को ट्याग हटाएर प्याकिङ, ढुवानी र भन्सार खर्चसमेत व्यहोर्ने प्रतिबद्धता जनाएका थिए।

तर रोयटर्सका अनुसार, ट्रम्प प्रशासनका निर्णयका कारण ती सबै प्रस्ताव अस्वीकार गरियो। अमेरिकाको भनाइ छ कि ती सामग्री अन्ततः गर्भपतन सेवा दिने संस्थासम्म पुग्न सक्ने सम्भावना भएकाले नष्ट गर्नु नै उचित विकल्प हो।

एमएसआई रिप्रोडक्टिभ च्वाइसका एक अधिकारीले यस कार्यलाई महिलाको प्रजनन अधिकारमाथिको वैचारिक हमला भनेका छन्। उनका अनुसार, “यो पैसाको विषय होइन। गर्भनिरोधक नपाउँदा धेरै मुलुकहरूमा असुरक्षित गर्भपतनको दर बढ्नेछ।”

ट्रम्प प्रशासनको पालामा अमेरिकी सहायता नीति कट्टर रूपमा गर्भपतनविरोधी रहँदै आएको छ। त्यो नीतिअनुसार, अमेरिकी सहायता कुनै पनि यस्तो संस्थालाई दिन नपाइने व्यवस्था छ जसले गर्भपतन सेवा प्रदान गर्छ वा समर्थन गर्छ।

यो घटनाले अमेरिकाको वैदेशिक सहायता नीति, प्रजनन अधिकार र राजनीतिक वैचारिक संघर्षबीचको गहिरो खाडललाई पुनः उजागर गरेको छ। अमेरिकी संसदमा ती सामग्री नष्ट हुन नदिने उद्देश्यले दुईवटा विधेयक पनि दर्ता गरिएका छन्। तर सहायता संस्थाहरूले ती विधेयक पास नहुन्जेलसम्म सामग्री नष्ट हुने खतरा कायमै रहेको बताएका छन्।

बेल्जियमको परराष्ट्र मन्त्रालयले गोदाममा थन्किएका ती सामग्री नष्ट हुन नदिन अमेरिकासँग समन्वय गरिरहेको जनाएको छ। मन्त्रालयले रोयटर्ससँग भनेको छ, “हामीले ती सामग्रीलाई अस्थायी रूपमा सार्ने विकल्पसमेत दिएका थियौं, तर अन्ततः कुनै व्यावहारिक समाधान सम्भव भएन।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट