Techie IT
२०८२ माघ २८, बुधबार

व्यापार–युद्धका विच चीनको वार्षिक व्यापार नाफा १० खर्ब डलर नाघ्यो


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरमा कडाइ गर्दै व्यापार–युद्ध सुरू गरे पनि चीनले इतिहासमै पहिलो पटक वार्षिक व्यापार नाफा १० खर्ब डलर पार गरेको छ। चीनले सोमबार सार्वजनिक गरेको भन्सार तथ्यांकअनुसार चालू वर्षको पहिलो ११ महिनामा देशको वस्तु व्यापार नाफा १० खर्ब ७६ अर्ब डलर पुगेको छ। यो तथ्यांकमा सेवा व्यापार भने समावेश नगरिएको फाइनान्सियल टाइम्सले जनाएको छ।

गत वर्ष चीनको व्यापार नाफा ९ खर्ब ९२ अर्ब डलर थियो। यस वर्ष भने ११ महिनामै १० खर्ब डलर नाघिएको छ । यसले चीनको निरन्तर बढ्दो निर्यात क्षमतालाई संकेत गर्दछ। अक्टोबर महिनामा ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच एक वर्षका लागि व्यापार–युद्ध विराम गर्ने सहमति भएपछि चीनको व्यापार नाफा थप बलियो बनेको देखिन्छ।

यद्यपि ट्रम्पले दोस्रो कार्यकालमा पुनः भन्सार वृद्धि गर्दै व्यापार–युद्धलाई कडाइ गरेका कारण चीनको अमेरिकामुखी निर्यात केही घटेको छ। अमेरिकामा हुने निर्यात सेप्टेम्बरसम्म बढिरहे पनि अक्टोबरमा २५ प्रतिशतले घटेको भन्सार तथ्यांकमा उल्लेख छ। तर अन्य देशमा निर्यात बढेकाले चीनको समग्र निर्यातमा ठूलो गिरावट आएको छैन।

दक्षिण एसिया र युरोपतर्फ निर्यात अक्टोबरमा पनि वृद्धि भएको चीनले जनाएको छ। यद्यपि सो वृद्धि अघिल्लो वर्षभन्दा केही कम रहेकाले समग्र निर्यात वृद्धिदरमा प्रभाव पारेको बताइन्छ।

गत हप्ता ट्रम्प र सी चिनफिङबीच भएको सहमतिअनुसार चीनले फेन्टानिल उत्पादनमा प्रयोग हुने कच्चा रसायनको बिक्रीमा कडाइ गरेपछि अमेरिकाले केही चिनियाँ वस्तुमा लगाएको भन्सार १० प्रतिशतले घटाउन सहमति जनाएको थियो। भन्सार राहतका कारण आगामी महिनामा चीनको अमेरिकामुखी निर्यात फेरि बढ्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट