८१औँ महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन: भोटेकोसीको विपद् स्थानीय होइन, विश्वका लागि गम्भीर चेतावनी हो
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्व मानवताबारेको गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।
महासभामा विश्वको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शाहले भने, “म हिमालय क्षेत्रमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी सम्पूर्ण मानवताका लागि हो।” उनले विकास, लोकतन्त्र र शान्तिका विषयमा बोल्ने चाहना हुँदाहुँदै पनि देशमा गएको महाविपद्का कारण मृत्यु र विनाशका कथा सुनाउन बाध्य हुनुपरेको दुखेसो पोखेका थिए ।
“म परिवारका सदस्य गुमाएका र आफ्ना प्रियजन कहिल्यै नफर्किने प्रतीक्षामा रहेका परिवारबारे बोल्दैछु। हिलो, चट्टान र पानीमा आफ्ना आफन्त खोजिरहेका समुदायबारे बोल्नुपरेको छ ।” उनले भने । केही मिनेटको अन्तरालले पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको उल्लेख गर्दै उनले यसलाई कतिपयले “माउन्टेन सुनानी” समेत भनेको स्मरण गराएका थिए ।
प्रधानमन्त्री शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शून्य दशमलव १ प्रतिशतभन्दा कम रहे पनि जलवायु परिवर्तनको असाध्यै ठूलो र अस्वाभाविक मूल्य चुकाउनुपरेको कठोर यथार्थ रहेको बताएका थिए । उनले यो संकट नेपालका लागि केवल मानवीय घटना मात्र नभई “विकासको आपत्काल” भएको स्पष्ट पारेका थिए ।
ऐतिहासिक रूपमा अत्यधिक प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने माग गर्दै उनले भने, “जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले आफ्नो विगत मात्र पुनर्निर्माण गरिरहनुको सट्टा अब भविष्य निर्माण गर्न पाउनुपर्छ।”
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले अति कम विकसित देश (एलडीसी) भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको दाबी गरेका छन् । देशको आधा भूभाग वनजंगलले ढाकिएको, जलविद्युत् उत्पादन तीव्र पारिएको र युरोपका कतिपय भूभागसँग तुलना गर्न सकिने गरी विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरिएको उनले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस