नेपाली प्रहरीमा १ हजार ५९४ पदका लागि दरखास्त आह्वान
प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। आज शुक्रबार जारी सूचनाअनुसार १ हजार ५९४ जना नयाँ प्रहरी पदका लागि आवेदन खुला गरिएको हो।
सूचनाअनुसार १ हजार ५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगी तर्फ ११ जना हजाम, १५ जना कुचीकार र १५ जना खेलाडी भर्ती हुनेछन्।
प्रहरी जवानका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम कक्षा ८ पास गरेको हुनुपर्नेछ। प्रहरी कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएका केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।
जवान, हजाम र कुचीकारका लागि सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज काठमाडौंमा फाराम बुझाउनुपर्नेछ।
दरखास्त शुल्क जनपदतर्फ रु. ३०० तोकिएको छ। एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप रु. ६० दस्तुर लाग्नेछ। खेलाडीका हकमा शुल्क रु. २०० रहनेछ भने समूह थप गर्दा अतिरिक्त रु. ४० तिर्नुपर्नेछ।




तपाईको प्रतिक्रिया दिनुहोस