सुदूरपश्चिम र कर्णालीको राजनीतिक परकम्प कोशीमा, काँग्रेसले बोलायो आकस्मिक बैठक
प्रदेशहरुका सत्तारूढ नेकपा (एमाले) र नेपाली काँग्रेस गठबन्धनबिच केन्द्रमा देखिएको खटपटको सिधा असर कोशी प्रदेश सरकारमा पनि देखिने भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित राजनीतिक घटनाक्रमसँगै कोशीमा पनि सरकार फेरबदलको चर्चा तीव्र बनेको हो।
बुधबार सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरू बर्खास्त गरिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उता, कर्णाली प्रदेशमा पनि काँग्रेसका मन्त्रीहरूले एमाले नेतृत्वको सरकारबाट सामूहिक राजीनामा दिएका छन्। दुई प्रदेशमा गठबन्धन भत्किएसँगै कोशी प्रदेश सरकारको भविष्यलाई लिएर राजनीतिक वृत्त तातिएको छ।
यसैबिच, काँग्रेसले कोशी प्रदेश सरकार र एमालेसँगको समीकरणबारे ठोस निर्णय लिन बिहीबार बिहान ११ बजेका लागि पार्टी संयन्त्रको आकस्मिक बैठक बोलाएको छ। विराटनगरको बरगाछीस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठक दलका नेता उद्धव थापाले आह्वान गर्नुभएको हो।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले भोलिको बैठकपछि महत्वपूर्ण निर्णय सार्वजनिक हुने बताएका छन् ।
काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले अन्य प्रदेशको राजनीतिक राजनीतिक प्रभाव कोशीमा पनि पर्ने सङ्केत गरेका छन् । "केन्द्रले जे निर्णय गर्छ, त्यो यहाँ पनि पालना हुन्छ," उपनेता कार्कीले भन्नुभयो, "सुदूरपश्चिम र कर्णालीको हावा कोशीमा पनि आउने निश्चित देखिन्छ।"



तपाईको प्रतिक्रिया दिनुहोस